समुन्द्र पौडेल, तनहुँ, जेठ ६ - हल्यान्डका डेक एलोभनले पोखरी भञ्ज्याङ-१, बेलबासस्थित सिद्धबेनी निमाविलाई ५० थान ल्यापटप दिएका छन्। गत मंसिरमा आफ्नी प्रेमिका मार्जनी डेगरसँगै नेपाल घुम्न आएका एलोभनले स्थानीय इन्द्र परियारकै घरमा टिकाटालो गरी विद्यालयलाई १० थान ल्यापटप दिने घोषणा गरेका थिए। उनले जेठ १ गते साझा शिक्षा इपार्टीमार्फत ५० ल्यापटप विद्यालयलाई प्रदान गरेका हुन्। उनले इन्टरनेट जडानका लागि उपकरण समेत दिएका छन्। एलाभेन 'मिट इन' नामक अन्तर्राष्ट्रिय संस्थाको हल्यान्ड डाइरेक्टर हुन् भने डेगर हल्यान्डमै मानसिक रोगीको उपचार गर्छिन्। एलाभेनले साढे तीन वर्ष पुरानो प्रेमको उत्कर्षमा पुगेको ठाउँको विद्यालयलाई सहयोग गरेको इन्द्र परियारको भनाइ छ। 'पेसाले म सवारी चालक हुँ,' परियारले भने, 'पाँच वर्षअघि काठमाडौंमा नेपाल बन्दका बेला एलाभेनसँग चिनजान भएको हो।' उनी २०६६ सालमा समेत नेपाल आएका रहेछन्। 'शिक्षा सबै कामको साँचो हो,' गत मंसिरमा सिद्धबेनी निमाविमा आयोजित कार्यक्रममा उनले भनेका थिए, 'त्यही भएर हामीले शिक्षा क्षेत्रमा सहयोग गरेका हौं।' हल्यान्डका पर्यटकबाट ल्यापटप उपहार पाएपछि विद्यालयमा ल्यापटपसम्बन्धी तालिम सुरु भएको छ। प्रधानाध्यापक लक्ष्मीकान्त मिश्रले १३ शिक्षक ७ दिने तालिममा सहभागी भएको जानकारी दिए। अब कक्षा २ देखि कक्षा ६ सम्मका सबै विद्यार्थीलाई कम्प्युटर विषयको पढाइ अनिवार्य गरिने उनले बताए। कक्षा ६ सम्म अध्यापन हुने विद्यालयमा ३ सय ५० विद्यार्थी छन्। विद्यालयले 'एक विद्यार्थी एक कम्प्युटर' अभियान चलाई विद्यार्थीको क्षमता वृद्धि गराउने सोच बनाएको छ। यस्तो अभियान चलाउने विद्यालय गण्डकी अञ्चलमै पहिलो हुने मिश्रको दाबी छ।
समाचार
»
गाउँको विद्यालयलाई ५० ल्यापटप
गाउँको विद्यालयलाई ५० ल्यापटप
Tags:
समाचार
0 commentaires