के तपाईं पनि अत्यधिक धुम्र्पान सेबनगर्नुहुन्छ ? यदी गर्नु हुन्छ भने साब्धान् !!!
"World-wide,almost 5 million die permaturely each year as a result of SMOKING "
डा. अञ्जनीकुमार शर्मा
ए क चिकित्सकका रूपमा मैले नेपाली दाजुभाइ, दिदीबहिनीहरूको सेवा गर्दै आएको पाँच दशकभन्दा बढी भइसकेको छ । आज म विश्वस्त भएको छु, धूमपान र सुर्ती सेवनले विभिन्न किसिमका रोगलाई निम्त्याउनुबाहेक अरू केही गर्दैन । ०३९ सालमा एउटा नाराको परिकल्पना गरेका थिए- 'धूमपान र सुर्तीको सेवनले लिन्छ ज्यान' । यो सुन्दा अलिक तीतो लाग्छ तर यथार्थ होे- सुर्ती सेवन गरी हामी मृत्युका लागि बाटो आफैं निर्माण गर्दै छौंं । त्यसैले सुर्ती र सुर्तीजन्य सामग्रीको प्रयोगलाई निर्मूल पार्न हामी लायन्स क्लब, नेपाल अर्बुद रोग निवारण संस्थासँग मिलेर धूमपानविरुद्धको अभियानमा जुट्यौं । नेपाल सरकारले पनि सार्वजनिक स्थलमा धूमपान गर्न रोक लगाउने विधेयक हालै मात्र पारित
गरेको छ । यसको कार्यान्वयनमा भने बिलम्ब नहोस् ।
यसअघि हामीले धूमपानविरुद्धको सचेतना अभियानसँगसँगै हामीले धेरै कार्य गर्यौं । तत्कालीन नेपाल सरकारसँग निर्णय गराई प्रतिखिली चुरोटको एक पैसा -अहिले प्रतिखिली दुई पैसामा पुगेको छ ) राजस्व उठाई सोबाट प्राप्त रकम स्वास्थ्य कर कोषका रूपमा जम्मा गरिएको छ । त्यो रकमबाट धूमपानको प्रयोगबाट कडा रोग लाग्न गएकालाई उपचारमा सहयोग पुर्याउँदै आइएको छ ।
चुरोटको धूवाँमा चार हजार किसिमका रासायनिक तत्त्व रहे पनि तीमध्ये तीन वटा तत्त्वलाई मुख्य मानिँदै आएको छ ।
१. टार -अलकत्रा)- टारले मानिसको श्वासप्रश्वास नलीको म्युकोसामा लेप लगाएजस्तै गरी लेप लगाउँछ । यसले गर्दा श्वास नलीको प्वाल सानो हुन्छ र मानिसलाई श्वास फेर्न गाह्रो हुन्छ । धूमपान गर्नेहरूलाई सास फेर्न गाह्रो हुने गरेको हामीले देखेका छौं । धूमपान प्रयोगकर्ताको फोक्सोको फुल्ने शक्तिमा पनि ह्रास आउँछ । उनीहरूले खोक्दा कालो खकार निस्कने गर्छ ।
टारमा क्यान्सर कारक तत्त्वहरू बेन्जपाइरिन तथा बेन्जाथ्रेसिन हुने भएकाले धूमपान गर्नेलाई क्यान्सर रोग लाग्ने सम्भावना अत्यधिक रहन्छ ।
२. कार्बनमोनोअक्साइड- हामी नाक र मुखबाट स्वच्छ हावालाई शरीरमा प्रवेश गराउँछौं । तर जब धूमपान गर्नेले चुरोट तान्छन्, उनीहरूले सास सँगसँगै चुरोटमा रहेको रसायन कार्बनमोनोअक्साइडलाई शरीरभित्र पुर्याइरहेका हुन्छन् । यसरी श्वासप्रश्वासको बाटो भएर फोक्सोमा पुगेको कार्बनमोनोअक्साइड फोक्सोमा रहेको अक्सिजनसँग नमिली रगतको कणसँग मिल्न जान्छ । यसकारण धूमपान गर्ने व्यक्तिको रगतमा धूमपान नगर्ने व्यक्तिको भन्दा कम मात्रामा अक्सिजन पाइन्छ । रगतमा कम अक्सिजन हुनेहरूको हातखुट्टाका औंला, जिब्रोको रङ गुलाबी रङको नभई निलो रङको देखिन्छ । त्यस्ता व्यक्तिले व्यायाम गर्दा पनि मांसपेशी, मुटु र मगजलाई आवश्यक अक्सिजन उपलब्ध गराउन सक्दैन । त्यस अवस्थामा शरीर धेरै दुख्ने गर्छ साथै नसामा रगत जम्न सक्छ ।
३. निकोटिन- चुरोट, बिंडीलगायत सुर्तीजन्य पदार्थमा पाइने सबैभन्दा खराब रसायन तत्त्व हो निकोटिन । यसले धूमपान गर्नेलाई तल्तल् लगाउने काम गर्छ । धूमपानमा विद्यमान निकोटिन रगतमा मिसिएर शरीरका विभिन्न नसामा मिसिएर शरीरको विभिन्न भागमा पुग्छ । रगतमा रक्तकणसँगै मिसिएको निकोटिन एड्रेनल ग्ल्यान्डमा पुगेर एडे्रलिन तथा नोरएड्रेलिन सिक्रिट गराई मुटुको धड्कन बढाउँछ । यससँगै रक्तचाप उच्च भएर जान्छ साथै धूमपानमा रहेको निकोटिनले प्लेटलेटको जम्ने शक्तिलाई पनि वृद्धि गराउँछ । यो अवस्थामा मानिसलाई हृदयाघात -हर्ट एटेक ) हुन सक्छ । त्यस्तै दिमागमा हुने रक्तसञ्चालनमा कमी आई ब्रेनस्ट्रोक वा प्यारालाइसिस -पक्षाघात) हुने स्थिति पनि आउन सक्छ ।
धूमपान एवं सुर्ती सेवनले शरीरका विभिन्न भागमा असर गरिरहको हुन्छ । धूमपान गर्ने मानिसमा विभिन्न किसिमका एलर्जी, क्रोनिक ब्रोङकाइटिस, एस्थमा -दमरोग), इम्फाइसेमा, टिबी -क्षयरोग) देखा पर्न सक्छ भने त्यसले गर्दा फोक्सोको क्यान्सर भएको धेरै पाइन्छ । धूमपान गर्नेलाई मुख, जिब्रो, पित्ताशय, पित्तको थैली, प्याङक्रियस, पाठेघर, मूत्राशय र मृगौलाको क्यान्सर हुने सम्भावना बढी रहन्छ ।
धूमपानको मात्र होइन, सुर्ती सेवन गर्ने, पानपराग एवं सुर्तीमिश्रति गुटखाको प्रयोग गर्नेलाई मुख र जिब्रोको क्यान्सरको सम्भावना रहन्छ । तिनमा ल्युकोप्लेकिया -सेतो म्युकोसा ) हुने सम्भावना पनि अधिक रहन्छ । त्यसैले पनि हामी भन्न सक्छौं- सुर्ती सेवनले मानव शरीरलाई हानि मात्र गर्छ, कुनै फाइदा पुर्याउँदैन ।
by ekantipur
0 commentaires