रमेश खतिवडा, दोलखा, वैशाख ४- चौंरीपालनमा प्रख्यात हिमाली जिल्ला दोलखामा याक घट्दै गएका छन्। चौंरी प्रजननमै समस्या भएपछि दोलखा पशु सेवा कार्यालयले तिब्बतबाट सातवटा याक किनेर गाउँलेलाई बाँडेको छ। उत्पादन कठिन, पालनपोषण पनि खर्चिलो र झन्झटिलो भएकाले याक घट्दै गएको दोलखाका वरिष्ठ पशु विकास अधिकृत जगत सिम्खडाले बताए। याक अभावमा प्रजनन नहुँदा चौरीको वंशविस्तारमै समस्या हुने भएकाले तिब्बतबाट किनेर गाउँलेलाई दिएको सिम्खडाले बताए। कार्यालयका अनुसार चौरीपालन व्यवसायले चर्चित सैलुङ, कालिन्चोक, बिगुलगायतका क्षेत्रमा याक पाइनै छाडेको छ। कालिन्चोक र बिगु क्षेत्रमै ३ हजार ६ सय चौंरी छन्, तर याक एउटै छैनन्। यस क्षेत्रका किसानका लागि बिउका रूपमा केही दिनअघि तिब्बतबाट चारवटा याक किनिदिएको सिम्खडाले जानकारी दिए। जिरी, श्यामा र माली क्षेत्रका किसानलाई पनि कार्यालयले केही महिनाअघि तीनवटा याक किनिदिएको थियो। तिब्बतसँग सीमा जोडिएका उत्तरी रोल्वालिङ र लप्ची क्षेत्रमा भने अझै केही याक हुनसक्ने कार्यालयको अनुमान छ। एक दशकअघिसम्म त दोलखाका हिमाली र उच्च पहाडी भागमा प्रशस्त याक थिए। कार्यालयका अनुसार छिमेकी सिन्धुपाल्चोक र रामेछापका किसानसमेत चौंरीलाई याक लगाउन दोलखाका गोठ धाउँथे। याक घट्न थालेपछि चौंरीपालक किसानले पहाडी गोरुले प्रजनन गराउँदै आएका छन्। चौंरीलाई गोरु लगाउँदा प्रजनन भए पनि चौरी र याक नजन्मिने सिम्खडाले बताए। ‘दूधका लागि मात्र काम लाग्छ,' उनले भने। उनका अनुसार यसरी प्रजनन गराएर भाले जन्मियो भने नपुंसक हुन्छ जसलाई ‘झोप्क्यो' भनिन्छ। यसलाई किसानले भारी बोक्नलगायत काममा प्रयोग गर्दै आएका छन्। पहाडी गाई र याकबीच गर्भधारण गराउँदा भने चौंरी उत्पादन हुने उनले बताए। याक जन्माउन भने नाकसँगै संसर्ग गराउनुपर्छ। नाक ३ देखि ६ हजार मिटर उचाइसम्म पाइने लामो रौं भएको हिमाली गाई हो। ‘याकको वंश विस्तार गर्न याक र नाक नै चाहिने भएकाले समस्या भएको हो,' सिम्खडाले भने। उनका अनुसार पहाडी गाईसँग याक वा पहाडी गोरुसँग नाक क्रस गराएर, दुवै तरिकाले, चौंरी उत्पादन गर्न सकिन्छ। पहाडी गाईसँग क्रस गराउँदा जन्मने चौंरीलाई ‘उराङ' र पहाडी गोरुसँग क्रस गराउँदा जन्मने चौंरीलाई ‘डिम्जो' भनिन्छ। नाकसँग पहाडी गोरु क्रस गराएर चौंरी उत्पादन गर्दा खर्चिलो र झन्झटिलो हुने भएकाले किसानले याक र पहाडी गाईबीच क्रस गराएर ‘उराङ' उत्पादन गर्ने पशु कार्यालयले जनाएको छ। नाक र याक माथिल्लो हिमाली भागमा मात्र पाइने भएकाले तल्लो क्षेत्रमा पाल्न कठिन छ। ‘याकलाई घाँस र अन्य खानपान मिलाउन समस्या भएकाले किसान गोरु नै लगाउन सजिलो मान्छन्,' देउरालीका चौंरीपालक कर्मा शेर्पाले भने। नेपाललाई ‘याक र चौंरीको देश' भनेर चिनाउँदै लामाबगरका किसान रिन्जे शेर्पाले याकको जगेर्ना गर्न सरकारले चौंरीपालकलाई विशेष सुविधा दिन माग गरे। चौंरीको दूधबाट बन्ने चिज, घ्यु प्रख्यात छन् भने याकका पुच्छर, छाला, सिङ पनि आकर्षणका वस्तु हुन्।
SOURCE:-NAGRIKNEWS


0 commentaires