दिलबहादुर छत्याल, धनगढी, वैशाख ३- एघार दिनदेखि बेपत्ता बाजुरा कुल्देवमाण्डौ–७ सायल घर भएका ३५ वर्षीय शिक्षक योगेन्द्र शाह मृत अवस्थामा भेटिएका छन्। शनिबार बिहान बेताछाडा भन्ने भिरमा अड्किएको अवस्थामा उनको लास फेला परेको प्रहरीले जानएको छ।
अछामको साँफेवगरबाट घर फर्कने क्रममा चैत २२ गतेबाट शिक्षक शाह बेपत्ता भएका थिए। बाजुरा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिबहादुर पुनका अनुसार शिक्षकको लास सड्न थालेको अवस्थामा फेला परेको छ। अछामको साँफेबगरबाट घर फर्कने क्रममा बाह्रबीसको मालिका बजारसम्म पुगेका शिक्षक त्यसपछि सम्पर्कबिहीन भएका थिए।
बाह्रबीस गाविसको सिगाडा र रिठा बजारको बीचमा रहेको बेताल छडामा अफ्ठेरो ठाउँमा फसेको उनको लास स्थानीय बासिन्दा र प्रहरी मिलेर निकालेका थिए। उनको लास शनिबार नै आफन्तलाई जिम्मा दिइएको प्रहरी निरीक्षक पुनले बताए। प्रहरी, स्थानीय, आफन्तहरुले घटनास्थलको आसपास क्षेत्रमा लगातार १० दिनसम्म खोजी गरे पनि शनिबारमात्र फेला पार्न सकेको स्थानीय खडक बिष्टले बताएका छन्।
भिरमा फेला परेको लास उनका आफन्तले पहिचान गरेपछि शिक्षकको भएको खुलेको प्रहरी निरीक्षक पुनले बताए। शवमा चोटपटक देखिएको प्रहरीले जनाएको छ। पोष्टमार्टमका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट डाक्टर भवानीप्रसाद शर्मा नेतृत्वको टोली गाउँमा नै गएको प्रहरीले जनाएको छ।
लास क्षतविक्षत अवस्थामा रहेको र पुरानो भएकाले गन्हाइरहेको स्थानीयले बताए। चैत २२ गते राति नै शाहको हत्या गरेको प्रहरीको प्रराम्भिक अनुसन्धानले देखाएको छ।
source:-nagriknews


0 commentaires