भक्तपुर, चैत ६- एसएलसी परीक्षा सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ। यही चैत १० गतेदेखि सुरु हुने २०६७ सालको प्रवेशिका परीक्षा सञ्चालन गर्न आवश्यक सबै तयारी पूरा भइसकेको परीक्षा नियन्त्रक सूर्य गौतमले बताएका हुन। यसपालिको परीक्षामा देशभरीमा पाँच लाख पाँचजना परीक्षार्थी सामेल हुनेछन्।
परीक्षा सञ्चालनका लागि देशभरिमा एक हजार ६७५ वटा परीक्षा केन्द्र तोकिएको छ। परीक्षालाई मर्यादित बनाउन एक हजार ६७५ जना केन्द्राध्यक्ष नियुक्ति गरिसकेको र २५ परीक्षार्थी बराबर एकजना परीक्षा निरीक्षकसमेत तोकिएको छ।
यसपटक नेपालमै जनक शिक्षा सामग्री केन्द्रमा प्रश्नपत्र छापेर जिल्ला–जिल्लामा पुर्याइसकेको परीक्षा नियन्त्रक गौतमले जानकारी दिए।
एसएलसी परीक्षामा हुने अनियमितता, चिट चोर्ने र चोराउनेलाई नियन्त्रण गर्न परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र रहेको विद्यालय वरपर मानिसको जमघट हुन नदिने तयारी गरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
यसपटकको परीक्षामा सबैभन्दा बढी काठमाडौँमा ३२ हजार ८३ जना र सबैभन्दा कम मुस्ताङमा ९० जना परीक्षार्थी रहेका छन्।
- रासस
0 commentaires