सन्तोष दाहाल ७ चैत्र, बहराइन । बहराइनमा चर्किएको राजनैतिक हिंसाबाट जोखिममा परेका ६ जना नेपालीलाई नेपाली क्लब र एनआरएन बहराइनको पहलमा उद्धार गरिएको छ । म्याग्दीका गमप्रसाद बिश्वकर्मा, चतुरे कामी, भक्तपुर नगरकोटका सानु कान्छा गुरुङ, धनुषाका अरुण राउत कुर्मी, लखेन्द्र राउत र मोरङका बुद्ध बहादुर धिमालको उद्धार गरिएको हो ।
बीएफजी इन्टरनेशलन कम्पनीमा कार्यरत उनीहरु ज्यान जोगाउन आफ्नो कोठा छाडी अन्यन्त्रै बस्दै आएका थिए । सिया मुस्लिमको बाहुल्य रहेको स्थानमा उनीहरु बस्दै आएका थिए । उनीहरुको कोठा पूरै तोडफोड गरीएको छ । स्थानीय अरबीहरुको सहयोगमा उद्धार गरी उनीहरुलाई सम्बन्धित कम्पनीको जिम्मा लगाईएको छ ।
भारतीयहरुले बहराइनबाट सञ्चालन गरीरहेको एफएम धेरै नेपालीहरुले पनि सुन्ने गरेकोले नेपाली क्लब बहराइन तथा एनआरएन बहराइनले संयुक्त रुपमा जोखिममा परेका नेपालीहरुको नामावली उपलब्ध गराउन एफएममार्फत् सूचना प्रसारण गरिरहेका छन् । अहिलेसम्म लगभग ५ सयभन्दा बढी नेपालीको नामावली संकलन भइसकेको बताइएको छ । नामावली दिएका धेरैजसो नेपाली स्वदेश फर्कन इच्छुक भए पनि कम्पनीले नेपाल फर्काउन मानिरहेका छैनन् । विगत ४ दिनदेखि बहराइनमा कार्यरत बिभिन्न मुलुकका कामदारहरुलाई सम्बन्धित देशका दुतावासले उद्धार गरिरहे पनि नेपालीहरुको उद्धार हुन सकेको छैन ।
राजनीतिक आन्दोलनका कारण हिंसाग्रस्त बहराईन विगत ३ दिनदेखि अलि शान्त महसुस गरिएको छ । आन्दोलनकारीको मुख्य मुख्य मागहरु पूरा नभएकोले फेरी हिंसा दोहोरीने हो कि भन्ने त्रास अझै कायम छ । आन्दोलनकारीहरु रहेको मुख्य मुख्य स्थानमा बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म अहिले पनि कर्फ्यु यथावत छ ।
source:-onlinekhabar
0 commentaires