काठमाडौ, माघ १० - सुरक्षा र राजस्वसम्बद्ध निकायको मिलेमतोमा मुलुकका प्रमुख नाका वरपरबाट तस्करीको 'लाइन खुलेको' छ । मिलेमतोमा निर्बाध तस्करी गर्ने छुटलाई 'लाइन खुलेको' भनिन्छ । स्रोतका अनुसार पुस दोस्रो सातायता तराईमा तस्करीको लाइन खुलेको हो ।
स्रोतका अनुसार लाइन खोल्न सुरक्षा निकायका साथै राजस्व अनुसन्धानका इकाईहरूको पनि मिलेमतो छ । वीरगन्ज, तातोपानी, मेची, विराटनगर, कृष्णनगर र धनगढी क्षेत्रबाट तस्करी वृद्धि भएको छ ।
तातोपानीमा भन्सार जाँचपास कडा गरिएपछि तस्करी बढेको छ । आयातीत सामानको भौतिक परीक्षणका साथै मूल्यांकनमा कडाइ गरिएपछि सर्वसाधारण -झोलेपोके) मार्फत भन्सार छलेर सामान पैठारी गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ । तातोपानी भन्सारले पछिल्लो समय लसुन, प्याजलगायत न्यूनतम राजस्व लाग्ने वस्तुलाई सुख्खा बन्दरगाह निर्माण गर्न प्रस्तावित लार्चा क्षेत्रमा लगेर जाँचपास गरी उच्च महसुल लाग्ने वस्तुलाई भन्सार क्षेत्रमै विस्तृत भौतिक परीक्षण गर्न थालेपछि चोरी पैठारी बढेको हो । यसरी परीक्षण गर्दा गलत घोषणा -प्रज्ञापनपत्रमा उल्लेख गरिएभन्दा बढी सामान) फेला पर्ने गरेको छ ।
तस्करले सयौंको संख्यामा झोलेपोके परिचालन गरी सामान पैठारी थालेका छन् । झोलेपोकेले भोटेकोसीको तुइनबाट सामान भित्र्याइरहेका छन् । 'तस्करी नियन्त्रणका लागि भन्सारमै रहने सशस्त्रको राजस्व गस्तीको ध्यानाकर्षण गराए पनि चासो देखाएको छैन,' अर्थ मन्त्रालयसम्बद्ध स्रोतले भन्यो । तातोपानी नाकाबाट दिनमा एकपटक झोला-पोकामा सामान ल्याउन पाउने गरी स्थानीयलाई जिल्ला प्रशासन कार्यालयले पास दिने गरेको छ । यस्ता पास लिनेको संख्या चार हजारभन्दा बढी छ । भन्सारमा कडाइ भएमा तस्करले यिनै पासवालाका साथै अरू स्थानीयलाई प्रयोग गरी सामान भित्र्याउँछन् ।
पर्सा जिल्लाको जानकीटोला, लंगडी, अमरपट्ट,ि भिसुवालगायत क्ष्ाेत्रबाट चिनी, दाल, चामलजस्ता खाद्यान्नका साथै उच्च महसुल लाग्ने सर्टिङसुटिङ, विद्युतीय र मोटरपार्टस्लगायत तस्करी बढेको छ । तस्करले ट्याक्टर, बयलगाडा र साइकलमा सामान ओसारेर ट्रकमा लोड गरी राजधानी ल्याइरहेको सूचना प्राप्त भएको पनि स्रोतले बतायो । 'यसरी आएका सामान बोकेका ट्रक वीरगन्जसम्म ल्याउँदा बाटोमा पर्ने प्रत्येक प्रहरी चौकी र सशस्त्र बेसक्याम्पमा २ हजार रुपैयाँका दरले पैसा बाँड्नुपर्छ,' एक व्यवसायीले भने ।
वीरगन्जमा आइपुगेपछि मूल्य अभिवृद्धि करको नक्कली बिल काटेर काठमाडौं आउने गरेको पनि उनले जनाए । पर्साका एसपी राजेन्द्रमान श्रेष्ठले आफ्नो क्षेत्रमा त्यति ठूलो तस्करी नभएको दाबी गरे । 'तैपनि
भन्सारसँग समन्वय गरी सक्रियता बढाउन थालेका छौं,' उनले भने ।
स्थानीय बजारभन्दा सीमावर्ती भारतीय बजारमा एक किलोमा १५ रुपैयाँ सस्तो भएकाले तराईका सबैजसो नाकामा चिनीको चोरी पैठारी बढेको छ । भारतीय बजारमा चिनीको खुद्रा मोल ५० रुपैयाँ प्रतिकिलो छ । तस्करले ठूलो परिमाणमा खरिद गर्दा थप सस्तोमा पाउँछन् । तर स्थानीय बजारमा चिनीको मूल्य ६५ रुपैयाँ प्रतिकिलो छ । चोरी पैठारीका कारण उखुको मूल्यअनुसार चिनीको मोल नपाएको भन्दै उद्योगले उखुको मोल घटाउन खोजेपछि सरकारले चिनीमा ७० प्रतिशत मूल्य अभिवृद्धि कर -भ्याट) छुट दिने निर्णय गरेको छ ।
अर्थमन्त्रीद्वारा नियन्त्रण गर्न निर्देशन
यसैबीच, तस्करी बढेर राजस्व असुली प्रभावित हुने भएपछि सुरक्षा निकायका अधिकारीसँग बैठक गरी अर्थमन्त्री सुरेन्द्र पाण्डेले राजस्व बढाउन अनुरोध गरेका छन् । अर्थमन्त्रीले भन्सार र राजस्व अनुसन्धान विभागका महानिर्देशकसाथै गृह सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकलाई बोलाएर गत शुक्रबार बैठक गरे । चालू आर्थिक वर्ष सरकारले आँट गरेको २ खर्ब १६ अर्ब रुपैयाँ राजस्व उठाउने चुनौतीलाई तस्करीले थप कठिन बनाएको मन्त्रीले बताएको एक सहभागीले बताए । बैठकले सुरक्षा निकायका दुवै अंगलाई सक्रिय बनाई नियन्त्रण गर्ने निर्णय गरेको छ ।
जिल्लास्थित राजस्व चुहावट नियन्त्रण समितिमार्फत सुरक्षा निकायलाई तस्करी नियन्त्रणमा सक्रिय बनाउने निर्णय भएको भन्सार विभागका महानिर्देशक नवराज भण्डारीले बताए । 'सुरक्षा निकायको सहयोगमा केही दिनभित्रै नियन्त्रण हुने विश्वास लिइएको छ,' उनले भने । चोरी पैठारी हुने वस्तुमा गम्भीरतासँग चेकजाँच गर्न सबै इकाईलाई निर्देशन दिइसकेको राजस्व अनुसन्धानका महानिर्देशक महेश दाहालले बताए ।
source:-ekantipur


0 commentaires