काठमाडौ, माघ २ - माघे संक्रान्तिको अवसरमा राजधानीको मरु टोलमा रहेको तीन तले काष्ठमण्डप
मरुसत्तल) को गजुरमा भीमसेनस्थानको तबो टोलका ज्यापू -काःभुजा) हरूले शनिबार ध्वजापताका फहराएका छन् । सत्तलको दक्षिण-पश्चिममा रहेको डबलीमा कलश राखी तान्त्रिक विधिपूर्वक होम पूजा गरेर ध्वजा फहराइएको हो ।
सत्तलको गजुरमा ध्वजा-पताका फहराएर छानाबाट चारै दिशामा चतामह्री, योमह्री, ल्होंचामरी -खास गरी धान्य पूणिर्मामा नेवार समुदायमा पकाइने रोटी) खसालेका थिए ।
त्यसपछि हो पूजा गरेकै डबलीमा उसिनिएको गहुँ गाईलाई खुवाएका थिए । त्यसरी खुवाउन शुक्रबार राति मरु सत्तलमा नै ३२ माना गहुँ उसिनेका थिए । यी सबै कामको सञ्चालन तिनीहरूको २७ परिवारको एउटा गुठीबाट भएको गठीका थकाली तीर्थनारायण महर्जनले बताए ।
गाईलाई खुवाउन पहिले ३२ वटा काँचा इँटाको चुलो बनाई ३२ पाथी ३२ माना र ३२ मुठ्ठी गहुँ उसिन्ने गरिन्थ्यो । तर अहिले ३२ माना मात्र गहुँ उसिन्ने गरेको अर्का गुठियार लोकबहादुर महर्जनले बताए ।
काष्ठकलाको अनुपम नमुना मानिने सत्तल निर्माणको कारण नखुले पनि राजा लक्ष्मीनरसिंहले निर्माण गरेको अनुमान छ । देवमाला वंशावलीमा राजा लक्ष्मीनरसिंहको पालामा सेतो मत्स्येन्द्रनाथको जात्रा हेर्न
आएका मानव रूपधारी कल्पवृक्षलाई तन्त्रको बलले पक्री काठको सत्तल बनाउन आवश्यक काठ दिन वाचा गराएको
उल्लेख छ ।
त्यसरी वाचा गराएको चार दिनपछि प्राप्त गरेको विशाल काठले नेपाल संवत् ७१५ मा उक्त सत्तल निर्माण गराइएको उल्लेख छ ।
सत्तल तयार भई पलिस्था भएपछि कल्पवृक्ष लगायत निमन्त्रण गरिएका तेत्तीसकोटी देवता बिदा भई जाने कबुल भएको तर नुन र खाने तेलको भाउ एकै भएको दिन मात्र पलिस्था गर्ने भनी सबै देवीदेवतालाई त्यही सत्तलमा अल्झाई प्रत्येक वर्ष यसै दिन नुन र तेलको भाउ के कस्तो छ ? बुझ्ने रीति रहेको पनि वंशावलीमा उललेख छ ।
यसैको नामबाट राजधानीको नाम काष्ठमण्डप रहेको अनुमान छ । पृथ्वीनारायण शाह र कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाशले पहिलोपल्ट काष्ठमण्डप घोषणा नेपाल सम्वत् ८७७ मा गरेको इतिहासमा उल्लेख छ ।
source:-kantipur


0 commentaires