काठमाडौ, पुस २९ - क्यानेडेली रकस्टार ब्रायन एडम्स काठमाडौंमा कन्सर्ट गर्न आउने 'गाइगुईं हल्ला' मा अब विश्वास गरे फरक नपर्ला । किनकि आयोजकले पत्रकार सम्मेलनमार्फत उनी आउने 'पक्कापक्की' भएको बुधबार बताएका छन् ।
केही साताअघि ब्रायनले काठमाडौंलाई सम्बोधन गरेको सन्देश युट्युबमार्फत सार्वजनिक हुँदासम्म धेरै फ्यानलाई पत्यार लागेको थिएन । 'समर अफ सिक्स्टी नाइन' गायक आउने पक्का भएको जनाउँदै आयोजकले फागुन ७ गते कार्यक्रम हुने घोषणा गरेपछि फ्यान हषिर्त भएका छन् ।
'ब्रायन फागुन ६ गते काठमाडौं उत्रिने छन्,' आयोजक ओडिसी नेटवर्कका कार्यकारी निर्देशक सिमान्त गुरुङले कान्तिपुरलाई भने, 'कार्यक्रम हुने पक्का भएको छ ।' ब्रायनलाई ५ वर्षदेखि उनीहरूले निम्तो दिँदै आएका थिए । तर, एक महिनाअघि
मात्र दुबईमा रहेको ब्रयानको 'साउथइस्ट एसिया शाखा' सँग सम्झौता गर्न सक्षम भएको बताइयो ।
आयोजकका अनुसार 'ब्रायन एडम्स लाइभ फुल ब्यान्ड शो वल्र्ड टुर' का क्रममा रहेका गायक भारतको हैदरवादस्थित कन्सर्ट सकेर २८ जना ब्यान्ड सदस्यसहित काठमाडौं आउने छन् ।
आफ्नै जहाज चढेर आउँदै गरेका ब्रायनको दुईदिने बसाइ सोल्टी होटलमा हुने छ । ब्यान्डका सदस्यका साथै अंगरक्षक, भान्से, डे्रसम्यानसहित आउन लागेका उनी फागुन ८ गते फर्किने छन् ।रंगशालामा हुने कन्सर्टका लागि आयोजकले तीन श्रेणीका टिकट आइतबारदेखि बिक्री गर्ने बताए । ६ हजार पर्ने प्लाटिनम, ३ हजार पर्ने गोल्ड र २ हजार पर्ने सिल्भर टिकट मनकामना बैंक र बेकरी क्याफेमार्फत बिक्री गरिँदै छ । होलोग्राम र बारकोडयुक्त टिकट भारतबाट ल्याइने छन् ।
२५ हजारभन्दा बढी दर्शकको अपेक्षा गरिएको कन्सर्टमा रंगशाला प्रवेशका लागि १४ वटा गेट खुला गरिने छन् । दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रममा ब्रायनले ७ देखि ९ बजेसम्म गाउने छन् । त्यसअघि नेपाली कलाकार र भारतबाट आउने डिजेले -नाम घोषणा हुन बाँकी) दर्शकलाई मनोरञ्जन दिलाउने छन् ।
source:-kantipur



0 commentaires