७ माघ, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले एसएलसी प्रश्नपत्रको छपाइको प्रारम्भीक काम सुरु गरेको छ । भक्तपुरको सानोठिमीमा रहेको केन्द्रको केन्द्रीय कार्यालयमा रहेका तीनवटा शैक्षिक सेक्युरिटी प्रेसमा प्रश्नपत्र छपाइको काम सुरु भएको हो ।
प्रश्नपत्र छपाइको लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको तीनवटा सुरक्षा घेरा बनाइएको छ । प्रश्न पत्र छाप्न झण्डै ३५ जना कर्मचारी गोप्य शाखामा खटिएका छन् । गोप्य शाखामा खटिएका कर्मचारीहरुलाई छपाइ अबधिभर एक महिनासम्म घर जान नदिइने, परिवारका सदस्यसँगसमेत सम्पर्क गर्न नदिइने र मोबाइल फोन प्रयोग गर्न नदिइने केन्द्रका प्रवक्ता मनोहर लामिछानेले जानकारी दिनुभयो ।
प्रश्नपत्र छपाइको निरन्तर अनुगमनका लागि छपाइ हुने क्षेत्रमा १६ वटा सिसिटिभी क्यामरा जडान गरिएको छ । छपाइ अबधिभर परीक्षा नियन्त्रक, उपनियन्त्रक, केन्द्रका प्रबन्ध सन्चालक, कर्मचारीहरु र सुरक्षाकर्मीलाई समेत सेक्युरिटी प्रेसमै बस्ने व्यवस्था मिलाइएको छ ।
यसअघि भारतमा प्रश्नपत्र छपाइ हुँदै आएको थियो । भारतमा प्रश्नपत्र छापिँदा करौडौं रकम विदेशिने र आर्थिक अनियमितता हुने गरेपछि पहिलोपटक नेपालमै प्रश्नपत्र छाप्न लागिएको हो । यसवर्षको एसएलसी परीक्षा आउँदो चैत १० गतेदेखि सुरु हुने बताइएको छ
source:-onlinekhabar



0 commentaires