विराटनगर, पुस ३० - कल वाइपास गर्ने गिरोहका पाँचजना नाइकेलाई मोरङ प्रहरीले बिहीबार विराटनगरबाट पक्राउ गरेको छ। एनसेलको सिमकार्ड प्रयोग गरेर ल्यापटपबाट कल वाइपास गर्ने गिरोहलाई प्रहरीको विशेष टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कल वाइपास गर्नेहरुसँग धेरै संख्यामा एनसेलको सिमकार्ड बरामद भएको छ। मोरङका प्रहरी प्रमुख एसपी दीपक थापाले पक्राउ परेकाहरुसँग आइपी सिस्टम फेला नपरेका अनुसन्धान भइरहेको जानकारी दिए। ‘धेरै संख्यामा सिमकार्ड बरामद भएको छ, कुन परियोजनका लागि यतिधेरै सिमकार्ड राखिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ'- एसपी थापाले नागरिकन्युजसँग भने,‘अनुसन्धान जारी रहेकाले धेरै कुरा बताउन मिल्दैन।'
प्रहरी स्रोतका अनुसार विराटनगरको रोडशेषस्थित कोशी प्रोजेक्टनजिक कल वाइपासको धन्दा गर्दै आएका टेकबहादुर कार्कीसहित ५ जनालाई पक्राउ गरेको छ। कल वाइपासमा प्रयोग गर्न कार्कीसँग रहेको एनसेलको सिमकार्ड र ल्यापटप प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीको विशेष टोलीले कल वाइपास गर्नेहरुको अखडामा एकैचोटी छापा मारेको स्रोतको भनाई छ। ‘सुराकीमार्फत् आएको सूचनाको आधारमा एकैचोटी पाँचै ठाउँमा छापा मारिएको हो'- स्रोतले भन्यो। प्रहरीले अनुसन्धानमा नेपाल टेलिकम र एनसेलका प्राविधिकहरुको पनि सहयोग लिइरहेको स्रोतको भनाई छ।
source:-nagriknews


0 commentaires