अमन कोइराला सर्लाही, पुस १३ - उखुको मूल्य प्रति क्विण्टल ४ सय २१ रुपैयाँ कायम हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका किसानले हरिऔन स्थित इन्दुशंकर चिनी उद्योग अगाडि उखुका लाँक्रामा आगो लगाएका छन् ।
हात हातमा उखुका लाँक्रा बोकेर हरिऔनबाट नाराबाजी गर्दै निस्केका किसानले चिनी उद्योगको गेटमा पुगेर साथमा ल्याएको उखुमा आगो लगाएका थिए । सड्क ढाकेर हिंडेको जुलुसका कारण केहीबेर पूर्व पश्चिम राजमार्गमा सवारी आवागमन प्रभाबित भएको थियो ।
उखुमा आगो लगाएपछि उद्योगको गेट अघिल्तीर भएको कोणसभामा किसानले् चौतर्फी महंगी बढेपनि उखुको मूल्य गतबर्षको भन्दा घटाउने उद्यमीको चाहना कुनै हालतमा पुरा हुन नदिने घोषणा गरे ।
किसान नेता रामशरण उप्रेतीले कुनै हालतमा पोहोरको मूल्य कायम गराउन थालिएको आन्दोलन किसानका लागि जिवन मरणको सवाल भएको बताउनु भयो ।
सर्लाहीमा आन्दोलन जारी राख्दै किसान नेताहरु उखुको मूल्य कायम गर्नका लागि काठमाडौंमा जारी बार्तामा सहभागी भएका छन् । उप्रेतीले सरकार, उद्यमी र किसान प्रतिनिधिबिच जारी बार्ताबाट किसानको पक्ष्ामा निर्णय हुन नसके तेस्रो चरणको आन्दोलनमा कडा कार्यक्रम ल्याउन बाध्य हुने उल्लेख गरे ।
source:-ekantipur
0 commentaires