काठमाडौं, असार २२- पाँच युवकबाट बलात्कृत भिक्षुणी होसमा आउने बित्तिकै मानसिक सन्तुलन गुमाएपछि उनको उपचार मानसिक अस्पतालमा सुरु भएको छ। धरानबाट संखुवासभाको खादवारी जाँदै गर्दा दस दिनअघि बस चालकसहित मिलेर उनको बलात्कार गरेका थिए। पीडितको उपचार यतिबेला भारतको सिलिगुढीमा चलिरहेको छ। बलात्कारीले गाउँमा घर बनाउन लैजाँदै गरेको एक लाख ४० हजार रुपैयाँ पनि उनीबाट लुटेपछि उपचार अघि बढाउनसमेत धौ धौ परेको छ। त्यसैले उनका आफन्त यतिबेला सहयोग खोज्दै राजधानी आइपुगेका छन्। पक्राउ परेका अभियुक्तले अपराध स्वीकार गरिसकेपछि पनि उचित कारबाहीको प्रत्याभूति नपाएको गुनासो मंगलबार नागरिक कार्यालयमा आइपुगेका उनका अभिभावकले गरे। अभिभावकका अनुसार स्थानीय प्रशासनले फितलो मुद्धा बनाएर अभियुक्त छुटाउने तयारी गरिरहेको छ। २१ वर्षिया भिक्षुणीलाई खाँदबारी १३ स्थित सभाखोलामा बलात्कार गरिएको थियो। त्यसपछि बसमा हालेर लैजादै गरेको देखेपछि संघिय लिम्वुवानका कार्यकर्ताले प्रहरीलाई खवर गरेर पीडितको उद्धार गरिएको थियो। घटनामा संग्लन त्यतिबेलै पक्राउ परेका थिए। न्याय माग्दै राजधानी आइपुगेका पीडितका आफन्तले आर्थिक अवस्थाको कारण उपचार समेत रोकिने अवस्थामा पुगेको दुखेसो पोखेका छन्। 'यहाँबाट उपचार गर्नका लागि सिलुगढी पुर्यायौं,' पीडितका ठूला बुवाले भने, 'ऋणबाटै जुटाएको दुई लाख भन्दा बढि सकिसक्यो।' वेहोस अवस्थामा भेटिएकी पीडित अझै सामान्य अवस्थामा आइपुगेकी छैनन्। पछिल्लो समयमा मानसिक समस्या पनि देखिएपछि चिन्ता बढेको उनले सुनाए। अर्की आफन्त तारा लामाले पीडितको ज्यान गुम्ने अवस्थामा पुग्दा पनि स्थानीय प्रशासनले कुनै सहयोग नगरेको आरोप लगाइन्। 'घटनाको तीन साता भित्रैमा प्रहरीले अदालतमा मुद्धा दायर गर्नु पर्ने हो,' उनले भनिन् 'तर प्रहरी अहिले पनि अनुसन्धान गरिरहेका छौं भनिरहेको छ।' उनले यातायात व्यावसायीहरुको दवावमा प्रहरीले पक्राउ गरिएका संग्लनहरुलाई कमजोर मुद्धा बनाएर छुटाउने तयारी गरिरहेको बताइन्। प्रहरीले घटनामा प्रयोग भएको गाडी समेत घटना लगत्तै छाडेको बताइन्। पीडितलाई क्षतिपुर्ती दिनुपर्ने र उनको उपचारको व्यवस्था गरिदिनुपर्ने उनीहरुको माग थियो। तामाङका अनुसार भोजपुर विकट गाउँ घर भएकी ति युवती धरानबाट खाँदबारी पढदै गरेकी आफ्नी बहिनीभेटन जाँदै थिइन्। पीडितकी आमा पनि विरामी अवस्थामा रहेको समेत उनले जानकारी दिइन्। यस विषयमा स्थानीय प्रहरीसँग सम्पर्क गर्दा कारबाही अघि बढाउन आफुहरुले कुनै सम्झौता नगरेको दाबी गरेका छन्। बलात्कारको पुष्टी भैसकेकाले थप अनुसन्धान गरेर मुद्धा चलाउने तयारी भैरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक मेघराज थापाले बताए। 'पक्राउ परेकाहरुसँगको बयानका आधारमा उनीहरुले बलात्कार गरेको पुष्टी भैसकेको छ,' थापाले भने 'अव दश दिन भित्रमा अनुसन्धान पुरा गरेर अदातलमा मुद्धा दायर गर्छौं।' प्रहरीले घटनामा संग्लन तेह्रथुमका २१ बर्षिय चालक राजु लिम्वु, धनकुटा पाख्रीवासका १७ बर्षिय सोवित मगर, संखुवासभाका २४ बर्षिय भुवन गुरुङ, इटहरीका २७ बर्षिय द्रोणवहादुर राई र धरानका १८ बर्षिय अभिषेक मगरलाई पक्राउ गरेको छ। उनले पीडितको उपचार खर्चमा समस्या देखिएपछि यातायात व्यावसायीसँग छलफल भैरहेकेा बताए। 'आरोपितहरुलाई कमजोर मुद्धा लगाउने तयारी गरेको भन्ने आरोप निराधार हो,' प्रहरी निरिक्षक थापाले भने 'हामी पीडितलाई जसरी भएपनि न्याय दिलाउछौं।' उनले यातायात सम्वद्ध घटना भएकाले उपचारका लागि व्यावसायीहरुसंग छलफल भैरहेकोले उनीहरुले उपचारमा सहयोग गर्ने विश्वास व्यक्त गरे। उनले युवती होसमा आएपछि उनीसंग सोधपुछ गरी मुद्धा दायर गरिने बताए।
(नागरिक)









0 commentaires