झापा साउन १० तराईमा सशस्त्र गतिबिधी गर्दै आएको एउटा भूमिगत संगठनले झापासहित तराइका सबै संचारमाध्यमहरुलाई मैथिली भाषामा कार्यक्रम र समाचार प्रसारण र प्रकाशन गर्न चेतावनी दिएको छ । ज्वाला सिंहबाट जनतान्त्रिक तराइ मधेष मुक्ति पार्टी दमकका संचार माध्यमहरुलाई पत्र पठाएर त्यस्तो चेतावनी दिएको हो । पार्टीका सर्बोच्च कमाण्डर भगत सिंहले हस्ताक्षर गरेको पत्र झापा इन्चार्ज आकाशले पठाएर झापाका रेडियो, टेलिभिजन र पत्रिकाहरुलाई मैथिली भाषामा समाचार र कार्यक्रम अनिबार्य प्रसारण र प्रकाशन गर्न चेतावनी दिएको छ । साउन ४ गतेदेखि लागु हुने गरि ३५ दिनको अल्टिमेटम दिँदै उसले चेतावनीलाई पालना नगरे भौतिक कारबाहीसम्म गर्ने धम्की दिएको छ । यो भूमिगत संगठनले केही समय अघिदेखि झापाका ब्यापारी र सर्वसाधारणलाई पत्र पठाएर करवापत भन्दै लाखौं रकम मागसमेत गरिरहेको छ । मागेका रकम नदिएपछि उसले दमकका ब्यापारी पवन अग्रवालको घरमा केहीदिन अघि बमसमेत राखेको थियो । बम, चन्दा र पत्र आतंक मच्चाउँदै आएको यो भूमिगत संगठनका स्थानीय नेता कार्यकर्तालाई प्रहरी प्रशासनले पक्राउ गर्न सकेको छैन । झापा इन्चार्ज आकाशले टेलिफोन गर्दै आफ्नो चेतावनीको बेवास्ता भए भौतिक कारबाहीसम्म गर्ने चेतावनी दिए । चेतावनी बेवास्ता गरिए पुनः चेतावनी दिने जनाउँदै उनले भने – तेस्रो पटक सञ्चार संस्था नै ध्वस्त पार्नेसम्मका भौतिक कारबाही पनि हुनसक्छ । पत्रकार महासंघ झापाले सञ्चार माध्यमलाई चेतावनी दिनेलाई कारबाही गर्न प्रहरी प्रशासनसँग आग्रह गरेको छ । राजनीतिक दलको आवरणमा कथित दल र संगठनहरुले दिएका अबाञ्छित दवाव महासंघलाई कदापि स्वीकार्य नहुने भन्दै महासंघका जिल्ला अध्यक्ष गणेश पोख्रेलले त्यस्तो माग गरेका हुन् । अनावश्यक रुपमा बारम्बार आउने यस्ता धम्कीप्रति महासंघ रेडियो प्रसारकहरुको छाता संगठन बोर्डकास्टिङ एशोसिएशन अफ नेपालका केन्द्रिय उपाध्यक्ष राजेन्द्र चौलागाईंले समेत निन्दा गरेका छन् । उनले राजनितीक दल र संगठनको नाममा संचारमाध्यमहरुलाई अनावश्यक हस्तक्षेप स्वीकार्य नहुने बताए । यसैबीच झापामा मात्र ३ सय आफ्ना सेना रहेको दावी गर्दै आएको सो संगठनले नयाँ सेनाका लागि भर्ना खुलेको समेत जनाएको छ । उसले तराइ मुक्ति सेनाको भर्ना खुलेको भन्दै मधेषप्रति बफादार, १८ बर्ष माथिकालाई दुइप्रति फोटो सहित जिल्ला कार्यालय भद्रपुरमा सम्पर्क गर्न जानकारी समेत गराएको छ ।
source:-पूर्वेली टाईम्स









0 commentaires