दुवै हर्नियाको एकैपटक अप्रेसन गर्दा बालकको मृत्यु

अस्पतालले लापरबाही गरेको आरोप- 
मनोज अधिकारी, पोखरा, असार २४ - मणिपाल शिक्षण अस्पतालमा एकैपटक दुवै हर्नियाको अप्रेसन गर्दा एक बालकको अकालमा मृत्यु भएको छ। तनहुँको छाङ-९ का ९ वर्षीय विवेक विकको चिकित्सकले आफुखुशी एकैपटक दुवै हनिर्याको अप्रेसन गर्दा मृत्युभएको हो।   असार ९ गते अप्रेसन गरेलगत्तै होसमा आएपछि पीडाले छट्पटाएर पुनः बेहोस भएका उनलाई अस्पतालले १२ दिनपछि मंगलबार मात्र मृत्युको घोषणा गरेको हो। यसबीचमा बालकलाई भेन्टिलेटरमा राखेर उपचार गरिएकाले सुधार भईरहेको अस्पतालले बताउँदै आएको थियो। बालकका आफन्तले भने अप्रेसन गरेको भोलिपल्ट असार १० गते नै विवेकको मृत्यु भएको दावी गर्दै अस्पतालले आफ्नो कमजोरी लुकाउन उपचारको नाटक गरेको बताएका छन्।  विवेकका ठूलाबा सुरज विककाअनुसार भेन्टिलेटरमा राखिएकाले अवस्था विस्तारै सुधार हुँदै आएको छ भनेर चिकित्सकले बताएपछि आफन्त निश्चिन्त भएर बसेका थिए। मंगलबार बालकको मृत्युको घोषणासँगै अस्पतालले गल्ती स्वीकार गरेको उनले बताए।  'राहतस्वरुप बालकका बाबुलाई अस्पतालमा रोजगारी, एकदाजु र एकभाईको निःशुल्क शिक्षा र उचित क्षतिपूर्ति दिने आश्वासन दियो' उनले नागरिकन्युजसँग भने,'घटनाबारे प्रहरी र पत्रकारलाई जानकारी नगराउन आग्रह गर्दै गुपचुप बनाए।'  मृतक बालकका बाबु दलबहादुर रोजगारीका लागि दुई महिनाअघि मात्र कतार गएका थिए। छोराको मृत्युको खबर सुनेपछि उनी बिहीबारै पोखरा आईपुगेका छन्।  अस्पतालले राहतको मौखिक सहमति पालना नगरेपछि बालकका आफन्त बिहीबार घटना सार्वजनिक गर्दै आक्रोशित बनेका हुन्। उनीहरुलले अस्पताल घेराउ गर्दै दोषी चिकित्सकलाई कारबाही र परिवारलाई उचित क्षतिपूर्तिको माग गरे।  मृतक बालकका ठूलाबा सुरज विकले अस्पतालकै लापरबाहीले विवेकको मृत्यु भएको जिकिर गर्दै दोषी चिकित्सकलाई कारबाही र उचित क्षतिपूर्ति नदिलाए अस्पताल विरुद्व जस्तोसुकै संघर्ष गरिने चेतावनी दिए। एउटा मात्र अप्रेसन गर्नुपर्नेमा एकैपटक दुवैतर्फ हनिर्याको अप्रेसन गर्दा मृत्यु भएको उनको भनाई छ। 'चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको स्वीकार गर्दै अस्पतालले सुरुमै उचित क्षतिपूर्ति दिने आश्वासन दिएर घटना बाहिर नलैजान आग्रह गरेको थियो' उनले नागरिकन्युजसँग भने,'पोष्टमार्टम नगरि मृत्युको कारण थाहा हुँदैन भन्दै अहिले पहिले भएका सहमति पालना गर्न मानेका छैनन्।'  विवेकको दुवैतर्फ हर्नियामा समस्या देखिएको थियो। अभिभावकले अहिले एउटा र केही समयपछि मात्र अर्काे अप्रेसन गर्ने भनेर विवेकलाई अस्पताल लगेका थिए। चिकित्सकले भने आफुखुशी एकैपटक दुवैतर्फको अप्रेसन गरिदिएकाले मृत्यु भएको बालकका काका डोलराज विकले बताए।  उनकाअनुसार चिकित्सकले पछिसम्मको झन्झट टर्छ भनेर एकैपटक अप्रेसन गरिदिएको बताएका थिए। असार ६ गते अस्पताल भर्ना भएका विवेकको ९ गते अप्रेसन गरिएको थियो। अप्रेसनपछि होसमा आएलगत्तै उनी छट्पटाउन थाले। यस्तो भएपछि पटकपटक चिकित्सकहरुको बैठक बसेको थियो। शिक्षण अस्पताल भएकाले चिकित्सकले प्रयोगात्मक अभ्यासका लागि एकैपटक दुवै हनिर्याको अप्रेसन गरेर अवोध बालकको ज्यान लिएको आफन्तको आरोप छ। अस्पतालले भने यसबारेमा बोल्न मानेको छैन। 'डाक्टरले हातखुट्टा चलेका छन्, ठीक हुँदैछ आत्तिनु पर्दैन भन्दै राखे' उनले भने,'अबोध बालकलाई डाक्टरहरुले सिक्ने साधन बनाउँदा ज्यान समेत लिए।'  अस्पताल प्रशासनका एक कर्मचारीले पीडित पक्षसँग वार्ता भईरहेकाले घटनाबारे केही बोल्न नमिल्ने प्रतिक्रिया दिएका छन्। बिहीबार अवेरसम्म भएको पाँचौं चरणको वार्तामा कुनै सहमति नभएपछि शुक्रबार पुनः वार्ता हुने गरि टुङ्गिएकौ छ। बालकको मृत्युपछि पटकपटक भएका वार्तामा समेत अस्पतालले दोषीलाई कारबाही र क्षतिपूर्तिको प्रयास नगरेपछि संघर्ष गर्नुपरेको ठूलाबा सुरजले बताए। शुक्रबारको वार्तामा पनि अस्पताल प्रशासन सकारात्मक नभए कडा रुपमा उत्रने उनले चेतावनी दिए।  पढाईमा तेजिला विक छाङ गाविसकै हिरामणी प्रावि कक्षा २ मा पढ्थे। विद्यालयका एक शिक्षकले पढाईमा तेजिला विवेक बिरामी भएको समेत थाहा नभएको बताए।


nagriknews


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login