नेपालीको खेत हडपेर भारतीयले धान रोपे

१३ साउन, बारा । बाराको दक्षिण झिटकैया गाविस-६ मा नेपाली किसानको खेत बलजफ्ती हडपेर भारतीयले धान रोपाईं गरेका छन ।  सिमावर्ती भारतीय गाँउ औरैयाका बासिन्दाहरुको एक समूहले भारतीय सिमा सुरक्षा बल एसएसबीका जवानहरुको सहयोगमा एक साताअघि नेपाली किसान अम्बिकाप्रसाद जैसवार, चन्दि्रका, किशोरी, रामकृत, कामेश्वर, रामप्रवेश हजारा, विरेन्द्र पासवान र मनोज चमारको करिब डेढ बिगाहा खेतमा धान रोपेका हुन् ।  भारतीय पक्षले नेपाली किसानले पुस्तौदेखि भोगचल गर्दै आएको जमिन कब्जा गर्न यसअघि पनि पटकपटक प्रयास गर्दै आएको स्थानीय अम्बिकाप्रसादले बताए । ‘तर यसपटक एसएसबीसहित आएर उनीहरुले कब्जा गरे,’ अम्बिकाप्रसादले भने ‘आफ्नो खेत लुटेर अर्काले धान रोप्दा पनि टुलुटुलु हेरिरहयौँ । रोक्ने आँट आएन ।’ तीन बर्षअघि धान रोप्न भनेर आएका भारतीयलाई स्थानीयले प्रतिकार गरेर धपाएपछि उनीहरु नेपाल छिर्न सकेका थिएनन् । औरैया ग्रामका नरुलहोदा मियाँ ठकुराईको अगुवाईमा भारतीय नागरिकहरुको समुहले नेपाली भुमी कब्जा गरेकोे अम्बिकाप्रसादले जानकारी दिए । भारतीय नागरिकहरुले नेपाली किसानलाई जमिन छोड्न यसअघि निरन्तर धम्की दिँदै आएको स्थानीयले बताएका छन् ।  त्यस्तै बसतपुर गाविसमा समेत भारतीय पक्षले नेपाली किसानको ५० बिगाहा भन्दा बढी धान खेत कब्जा गरेको बताइएको छ । दक्षिणझिटकैया गाविसबाट पश्चिमतर्फ पसाहा नदी पारी बसतपुरसम्मको करिव ४ किमी क्षेत्रमा भारतीय पक्षले नयाँ पिलर गाढेर जमिन कब्जा गरेको हो ।  दशगजा क्षेत्रका पुराना पिलर हराएको भन्दै भारतीय नापी विभागका कर्मचारीले नेपाली भूमी मिचेर २०५८ सालमा नयाँ पिलर गाढेपछि दुई देशका किसानबीच विवाद शुरु भएको हो । नापीका कर्मचारीले पिलर गाढेर गएपछि भारतीय पक्षले नेपाली किसानको जमिनमा दाबी गर्न थालेको बताइएको छ । सिमा यकिन गरिदिन पटकपटक अनुरोध गर्दा पनि नेपालको नापी विभागले बेवास्ता गरेको स्थानीयको गुनासो छ ।   शसस्त्र प्रहरी सिमा सुरक्षा बल बाराका प्रमुख कृष्णबहादुर थापाले जिल्लाका विभिन्न गाविसमा वर्षौँदेखि सिमा समस्या रहेकाले आफूहरुले केही गर्न नमिल्ने बताउँदै दुवै देशबीच उच्च तहमा वार्ता गरी विवाद टुङ्गोमा पुर्‍याउनु पर्ने बताए ।



source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login