चौतारा, श्रावण २ - सिन्धुपाल्चोकको कर्थली गाविस–१ निवासी ३६ वर्षीय पासाङ शेर्पाको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ । आफ्नै घरमा मोबाइल चार्ज गर्दा अचानक उच्च विद्युत् प्रवाह भई करेन्ट लागेर घटनास्थलमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक वसन्तकुमार लामाले बताए । उच्च विद्युत् प्रवाहले गर्दा आसपासका अन्य १० जना पनि घाइते भएका छन् । बाह्रबिसेबाट तीन घन्टाको पैदल दूरीमा रहेको घटनास्थलमा पुगेका प्रहरी टोलीले घाइतेहरुलाई उपचारार्थ बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको प्रहरीले बताएको छ । यस्तै चितवनको बछौँलीमा शौचालयमा लडेर आज एकजनाको मृत्यु भएको छ । बछाँली–३ मालपुर निवासी वर्ष ३५ का मोहन बानिया शौच गर्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । लडेर घाइते भएका उनको उपचारका लागि चितवन मेडिकल कलेज ल्याउने क्रममा बाटैमा मृत्युभएको चिकित्सकले जनाएका छन् । उनको शवलाई पोष्टमार्टमका लागि अहिले भरतपुर अस्पतालमा राखिएको छ त्यस्तै सप्तरीको दुई अलगअलग स्थानमा पानीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । सप्तरीको रम्पुरा मल्हनिया–५ बस्ने गुलठ यादवका चार वर्षीय छोरा सञ्जय यादवको जमेको पानीमा डुबेर मृत्यु भएको हो । घरअगाडि रहेको खेतमा बनेको खाल्डोमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी नायब निरीक्षक मनोज राउतले जानकारी दिए । यसैगरी, पत्थरगाढा गाविसस्थित पोखरीमा डुबेर सिरहाको बस्तीपुर–३ निवासी श्यामसुन्दर महतोकी सात वर्षीया छोरी सङ्गीताकुमारीको आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ । केही दिन अघिमात्र पत्थरगाढा–९ स्थित मामाघर आएकी उनको पोखरीमा साथीसँग नुहाउन गएका बेला डुबेर मृत्यु भएको परिवारजनले बताएका छन् । दुवै मृतकको शव राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा पोष्टमार्टम गरी दाहसंस्कारका लागि आफन्तजनलाई बुझाइएको प्रहरी हवल्दार रामकृष्ण यादवले बताए ।
source:-ekantipur