३१ असार, रूकुम। गएराति परेको अविरल वर्षासँगै गएको पहिरोले पुरिादा रुकुममा एकै परिवारका १० जना बेपत्ता भएका छन् । जिल्लाको पश्चिमवर्ती पूर्तिमकाँडा गाविस-३ गिठाकोटमा राति १० बजेको समयमा आएको पहिरोले स्थानीय उदिराम बुढाको परिवारका सबै सदस्य पुरिएर बेपत्ता भएका हुन् । स्थानीयले बिहानैदेखि उद्धारको प्रयास गरेपनि पहिरोले पूरै घर पुरिएकाले हराएकाहरु कोही फेला नपरेको आकाश पुनले जानकारी दिए । पहिरोमा पुरिएर हराइरहेकाहरु जिवितै भेटिने सम्भावना कम रहेको पुनले बताउनुभयो । बेपत्ता हुनेमा घरमुली उदिराम बुढा, उनकी श्रीमती, छोरा खडकबहादुर,बुहारी कवली, नातीहरु रोशन र एकराज छन् । त्यस्तै बेपत्ता हुने अन्यमा पाहुना लाग्न आएका छोरी गौनी बीसी, छोरी ज्वाईं रुद्रबहादुर बीसी नातीहरु नवराज र जीवन बीसी पनि पहिरोमा परि वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख उपरीक्षक किसनसिंह थापाले पूर्तिमकाँडा र सिम्ली चौकीबाट गएको प्रहरी टोली र स्थानीयले घटनास्थलमा उद्धारकार्य जारी राखेको जानकारी दिनुभयो । उता गएराति नै गएको पहिरोले पूर्तिमकाँडा-१ भलाटाकुरीका धनसिंह घर्तीमगरको घर पनि पुरिएको प्रहरीले जनाएको छ ।
source:-onlinekhabar









0 commentaires