लन्डन, अषाढ ३० - फार्नवोरो, अल्डरसट क्षेत्रमा नेपालीमाथि सांघातिक आक्रमणका खबर बढिरहँदा बेलायतस्थित रेडिङ सहरमा बस्ने नेपाली पनि बढ्दो लुटपाट र आक्रमणको शिकार भएका छन् । हङकङबाट आएका एक भूपू लाहुरेको घरबाट दुई साताअघि ४० तोला सुन लुटियो । गत आइतबार साँझ ६ बजे कामबाट फर्कने क्रममा प्रतिमा केसी एलेक्सजेन्डर रोडमा लुटिइन्, लुटेराले उनको दुई तोलाको सुनको सिक्री लगिदिए । एक बिहान ६:३० बजे काममा जाँदै गर्दा सवीर गुरुङलाई अक्सफोर्ड रोडमा तीन जनाले मरणासन्न हुने गरी पिटेर उनीसँग भएको बैंक कार्ड, मोबाइल फोन र अरू सबै सामानसमेत लुटे । एक वृद्ध भूपू गोर्खाको साथमा रहेको १२ सय पाउन्ड लुटिँदा उनी हेरेको हेर्यै भए । असार २३ गते अपराह्न ४:४५ बजे किंग्स ब्रिज रोड ह्वाइटलीको एक घरमा लुटेराहरूले 'बरो काउन्सिलबाट आएका कर्मचारी हुँ' भन्दै घरभित्र पसेर भएका सबै रकम/सामान लुटिदिए । त्यसको भोलिपल्ट दिउँसो २:४५ मा पिटक्रोफ्ट एभिन्युमा पानी जाँच गर्न आएको बहाना बनाई त्यस्तै लुटपाट गरियो । पुलिस कम्युनिटी सपोर्ट अफिसर ओमेन्द्र गुरुङका अनुसार यस्ता घटना कैयौं भएका छन् तर प्रहरीले औपचारिक जानकारी पाइरहेको छैन । 'पानी, बिजुलीको मिटर चेक गर्न आएको भनेर अपरिचित व्यक्ति आउँदा पनि नेपालीले घरमा प्रवेश दिएर लुटपाटका घटना भएका पाइएको छ,' गुरुङले भने । रेडिङमै बस्ने सेन्टर फर नेपाल स्टडिजका निर्देशक डा. कृष्ण अधिकारीका भनाइमा लुटपाटका घटनाबाट सबै समुदाय पीडित छ तर नेपालीको सोझोपन, भाषिक समस्या र गुनासो गर्न हिच्किचाउने परिपाटीले उनीहरू नै बढी सिकार भएका छन् । 'यसमा नेपालीमात्र लक्षित भए भन्न त मिल्दैन तर नेपाली समुदायमा यस्ता घटना बढिरहेकाले सचेतना जगाउन आवश्यक भइसकेको छ,' उनले बताए ।
source:-ekantipur









0 commentaires