फलेवास (पर्वत), असार १५- पर्वत जिल्लाको पाङ्गा गाविसमा भेटिएका विभिन्न आकृतिका कलात्मक सामग्रीहरु तीन हजार वर्षभन्दा पुरानो हुन सक्ने पुरातत्व विभागले जनाएको छ।
पाङ्गा गाविस-२ कालिमाटीका जर्नादन रिजालको खेतमा इँटा बनाउनका लागि माटो खन्ने क्रममा भेटिएका सामग्रीहरुको प्रारम्भिक परीक्षण गर्दा तीनहजार वर्ष पुरानो पाषण युगमा प्रयोग भएका सामग्री हुन सक्ने विभागले अनुमान गरेको हो।
विभागबाट खटिएको पुरातत्वविद्सहितको टोलीले त्यहाँ भेटिएका सामग्रीहरु परीक्षणका लागि लगेको छ। पुसको पहिलो साता इँटा बनाउने क्रममा माटो खन्दा ढुङ्गाका हतियार, काँटीहरु, ढुङ्गाका सियो, मालाजस्ता वस्तु (टिसीबिट), घैँटो तथा ढुङ्गे छानो भएको भग्नावशेष भेटिएको थियो।
ढुङ्गे युगमा पनि यहाँ बस्ती रहेको र प्राप्त सामानहरु उनीहरुले प्रयोग गरेका हुन सक्ने विभागका अधिकृत भास्कर ज्ञवालीले बताए। नेपालमा उत्खनन भएको सबैभन्दा पुरानो सभ्यताका रुपमा रहेको लुम्बिनी, तिलौराकोटभन्दा पनि यो सभ्यता पुरानो हुन सक्ने अनुमान विभागको छ।
मुस्ताङमा भेटिएको मानव सभ्यताको विकाससँग यी सामग्रीहरु नजिक देखिएको उहाँको दाबी छ। यसबारेमा विदेशमा विस्तृत अन्वेषण गरेपछि मात्र केही भन्न सकिने अधिकृत ज्ञवालीले बताए।
माटो खन्ने क्रममा करिब ५/६ फिट तल यी सामग्री भेटिएका थिए। अहिले उक्त स्थानमा इँटा बनाउने काम छाडिएको छ। तर पुरातात्विक सामग्री भने नष्ट हुने र थप अन्वेषणका लागि समस्या हुने सम्भावना पनि उत्तिकै छ।
जग्गाधनी रिजालले सरकरले उचित मुआब्जा दिए आफ्नो जमिनको अन्वेषण गर्न राजी रहेको बताए। तर विभागका अधिकृत ज्ञावली भने ऐतिहासिक र पुरातात्विक सामग्री रहेका स्थानलाई सरकारले संरक्षण गर्न सक्ने र मुआब्जा दिनुनपर्ने बताउँछन्। रासस









0 commentaires