न्युयोर्क- गुगलले फेसबुकको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै त्यस्तै खालको सोसल नेटवर्किङ सेवा सुरु गर्ने घोषणा गरेको छ। यसलाई गुगल प्लस नाम दिइएको छ। गुगलको आधिकारिक ब्लगमा यस्तो घोषणा गरिएको हो। गुगलका अनुसार गुगल प्लस प्रोजेक्टमा सर्कल्स, ह्याङ्गआउट्स, स्पार्कस र मोबाइल हुनेछन्। सर्कलमा साथीहरु र नातेदारहरुको विभिन्न समूह बनाउने सुविधा हुनेछ। यसमा तपाईँले एउटा समूहमा बाँडिने विषय अर्को समूहमा नदेखिने बनाउन सकिनेछ। उदाहरणका लागि तपाईँले नातेदारहरुको समूहमा बाँडेको फोटो साथीहरुको समूहले हेर्न नपाउने बनाउन मिल्छ। स्पार्कसले इन्टरनेटमा भेटिएका लिङ्कहरु बाँड्ने सुविधा दिनेछ भने ह्याङ्गआउटले भिडियो वा टेक्स्ट च्याट गर्न दिनेछ। गुगल प्लसको मोबाइलले भने सुरुमा एन्ड्रोइड प्रयोग भएका स्मार्टफोनले खिचेका फोटोहरु मात्र बाँड्ने सुविधा दिनेछ। ६० करोड प्रयोगकर्ता भएको फेसबुकलाई गुगलले कस्तो चुनौति दिने हो, त्यो हेर्न बाँकी छ।
नागरिक









0 commentaires