विराटनगर, जेष्ठ ४ - महिला नाचिरहन्छन् । गीत-संगीतको तालमा भने होइन । अनुराधा थापाले भनिन्, 'उमेरअनुसार महिलालाई माइती, घर-व्यवहारले नचाउँछ । भान्सा, केटाकेटी र तिनका लागि आइपर्ने दैनिकीले नचाउँछ । जीवन नाचेर बित्छ ।' उनका कुरा गहिरा छन् र सिर्जना पनि । क्यानभासमा रंगको संयोजनमा विभिन्न भावका प्रतिविम्ब छन् । 'चित्रका लागि खोजिने भाव जीवनकै अंग हो,' उनले भनिन्, 'बुझ्नेले एक थोक बुझ्ला, कोर्नेले सोचेको अर्कै थोक हुन सक्छ ।'
विराटनगरको हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा अनुराधाको एकल चित्र प्रदर्शनी आइतबार सुरु भएको छ । काशी हिन्दु विश्वविद्यालय -बीएचयू) बाट मूर्तिकलामा स्नातक उनको यो पहिलो एकल प्रदर्शनी हो ।
'सोख, पढाइ हुँदाहुँदै यो लाइन अँगालेको तीन दशक पुग्यो,' उनले भनिन्, 'यसरी एकल प्रदर्शनीको जोरजाम पहिले मिलेको थिएन ।' उपमहानगरभित्र लामो समयदेखि ललितकला संगममा कलाकार आबद्ध छन् । सोख र पेसाले कलाकारलाई संगममा गोलबन्द गरे पनि प्रदर्शनीका लागि ग्यालरी छैनन् । सबैजसो राजधानीमा विभिन्न समय आयोजना भइरहने प्रदर्शनीमा आफ्ना चित्र लिएर भाग लिन पुग्छन् । फिरेर आएपछि नगरभित्रै पहिचानको संकट आफ्नै पाराको छ ।
संगमका अध्यक्ष अग्रज चित्रकार गोपाल कलाप्रेमीले भने, 'यो नाटकघरले हाम्रा लागि एउटा बाटो खोलिदियो । अनुराधाका चित्रबाट प्रदर्शनीको बाटो खुल्यो ।' अनुराधाका चित्रमा महिला संवेदनशीलता नै प्रमुख विषय रहिआएको उनले बताए । अनुराधाका चित्रमा मुख्यतः पाइने नीलो, हरियो, पहेंलो र रातो रंग यही संकेत गर्छन् पनि ।'
शनिबार यहाँ आयोजित कला कार्यशालामा ११ कलाकारले एकै थलोमा बसेर चित्र कोरे । धेरै समयपछि विराटनगरमा भएको यस्तो जमघटलाई अनुराधाको प्रदर्शनीले थप बल दिएको गोपाललाई लागेको छ । भने, 'अब कला प्रदर्शनी गर्न/गराउन सजिलो हुन्छ भन्ने लागेको छ ।'
कला प्रदर्शनीकै समय पारेर राजधानीबाट आइपुगेका प्रा. अभि सुवेदीले सुनाए, 'अनुराधाका चित्रको विशेषता नियन्त्रण र परिपक्वता हो । तैल र एक्रेलिक माध्यममा बनाइएका उनका सबै चित्र भावपरक छन् ।' कला कार्यशालापछिको एकल प्रदर्शनीको अनुभव पृथक् रहेको उनले उल्लेख गरे । 'हाम्रा धेरै कलाकारका कला स्तरीय र बेजोड छन्, यो सबैले अब विराटनगरमै देख्न, अनुभव गर्न पाउने भए । यो खुसीको कुरा हो ।'
युवा कलाकार पारस थापाको बुझाइमा प्रदर्शनीमा रहेका १५ चित्र प्रत्येकले पृथक सन्देश बोकेका छन् । भने, 'एउटा हेरेर हिँडिहाल्नेभन्दा पनि हेरेर भाव केलाउनुपर्ने खालको लाग्यो ।'
नाटकघरका हर्ताकर्ता आरोहण गुरुकुलका निर्देशक सुनील पोखरेलका अनुसार अनुराधाको प्रदर्शनीबाट राम्रा प्रतिक्रिया आएका छन् । 'यसबाट विराटनगरमा ग्यालरी बनाउने हाम्रो सोचमा बल मिलेको छ,' उनले भने ।
प्रदर्शनी एक साता चल्नेछ, त्यतिन्जेल आगन्तुकहरूले अनुराधाका विविध भावलाई क्यानभासमा अनुभूति गर्न सक्नेछन् ।










0 commentaires