बिजय तामाङ न्यूयोर्क । न्यूयोर्कको ज्याक्सन हाइटमा रहेको नेपाली हेयर सैलुन रुम्बा सैलुनले नेपालमा रहेका अनाथ, असहाय तथा टुहुरा बालबालिकाको सहयोगार्थ हेयर स्टाइल च्यारिटी सो आयोजना गर्ने भएको छ ।
नेपालका ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुती रहने सो च्यारिटी सोमा रुम्बा सैलुनले डिजाइन गरेका बिभिन्न हेयरस्टाइलहरु समेत प्रर्दशन गरिने छ । युनिभर्सल रुम्बा शैलुनले स्थापनाको एक बर्ष पुरा गरेको उपलक्ष्यमा बिबिध साँस्कृति कार्यक्रमसहितको ‘हेयर स्टाइल च्यारिटी सो’ आयोजना गर्न लागेको संचालक चुमु लामाले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा संकलित रकम काठमाण्डौंको चावहिलमा कार्यालय रहेको ‘गौरव युथ युनिटी सोसाइटी तथा प्रेस्ड डेलिवरेन्स’ नामक संस्थालाई सहयोग गरिने छ । सन् २००१ मा स्थापित सो संस्थाले एक दशकको अबधिमा अनाथ, असहाय तथा टुहुरा बालबालिकाको उद्धार गरि उनीहरुलाई शिक्षाको अबसरसमेत प्रदान गर्दै आएको छ । संस्थाकी संस्थापकसमेत रहेकी लामाका अनुसार अहिले सो संस्थाले एक दर्जनभन्दा बढी त्यस्ता बालबालिकाको संरक्षण गरिरहेको छ ।
कार्यक्रममा रुम्बा शैलुनमा डिजाइन गरिएका हेयर स्टाइल प्रर्दशन गरिनुका साथै सहभागीहरुबाट उत्कृष्ट पहिरन र उत्कृष्ट जोडी छनौट गरि पुरस्कृतसमेत गरिने छ । कार्यक्रममा तामाङ सोसाइटी अफ अमेरिकाको युवा समूहको बिशेष प्रस्तुती रहने छ । जुन ३ तारिख साँझ ७ बजेदेखि आयोजना हुने कार्यक्रममा गायिका नलिना चित्रकार, नायिका रञ्जना शर्मा लगायतका कलाकारको प्रस्तुती रहने छ ।
via onlinekhabar










0 commentaires