बागलुङ, चैत्र २० - हत्या भएको महिनापछि एक महिलाकोको कंकाल भेटिएको छ । अधिकारीचौर-४ की २६ वर्षीया खिमसरा क्षेत्री गत असोज १९ गतेदेखि घरैबाट बेपत्ता भएकी थिइन । अधिकारीचौर ४ कै बतासे डाँडाको जंगलमा भेटिएको कंकाल ती महिलाको रहेको पुष्टी भएको छ । कंकालको परिक्षण बाट हत्याको पुष्टी भएको हो । गर्भवती रहेकी ती महिला रहस्यमय तरीकाबाट हराएकी थिइन ।
क्षेत्रीलाई कर्तव्य गरी हत्या गरेको आशंकामा प्रहरीले देवर हिराबहादुर क्षेत्रीलाई नियन्त्रणमा लिएको छ ।
हराएको दिन देवर भाउजु सँगै घुम्न निस्केको र बेलुकी नफर्केकोले बेपत्ता भएको भन्दै परिवारले प्रहरीमा खोजी गरिदिन उजुरी दिएका थिए । देवर स्वयंले प्रहरीमा भाउजु हराएको भन्दै उजुरी गरेपछि प्रहरीले देशभर हुलिया लिएर खोजी गरेको थियो ।
चैत ३ गते घर देखि ३ किमी टाढा जंगलमा भेटिएको कंकाल क्षेत्रीको हुन सक्ने आशंकामा इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक बीरबहादुुर पुलामीको नेतृत्वको टोलीले परिक्षण गर्न पठाएको थियो ।
प्रहरीले त्रिवि शिक्षण अस्पतालको विधि विज्ञान प्रयोगशालामा परिक्षणका लागि पठाएको कंकालमा भेटिएको रक्त समूह, घटनास्थलमा भेटिएका कागत, कपडा लगायतको आधारमा क्षेत्रीको हत्या भएको पुष्टी भएपछि प्रहरीले देवर हिराबहादुरलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक उमाप्रसाद चर्तुवेदीले बताए ।
क्षेत्रीका श्रीमान खुमबहादुर तीन बर्ष देखि कतारमा काममा रहेकोले देवरको गर्भ बोकेको अनुमान गरिएकी क्षेत्रीले स्थानीय स्वास्थ्य चौकीमा गर्भ परिक्षण गरेको कागत समेत फेला परेको प्रनाउ चर्तुवेदीले बताए । हत्याको प्रमाण खोज्न सजिलो होस भनेर अभियुक्तलाई नियन्त्रणमा लिएका छौं ।
मृतक युवतीका बाबु नरबहादुर अदाइले हिराबहादुर विरुद्ध किटानी जाहेरी समेत प्रहरीमा दिइसकेका छन् । प्रहरी नियन्त्रणमा रहेका देवर हिराबहादुरले सँगै घुम्न गएको समयमा पिशाव फेर्न जान्छु भन्दै गएर नफर्केको मात्र बयान दिएका छन् । अनैतिक सम्बन्ध भएको तथा हत्याको विषयमा भने केही नबताएको चर्तुवेदीले बताए । क्षेत्री बेपत्ता भएपछि श्रीमान पनि नेपाल फर्केका छन् । कंकाल क्षेत्रीको भएको पुष्टी भएपछि परिवारले दाह संस्कार गरिसकेका छन् । घटनाको विस्तृत अनुसन्धान भइरहेकोले थप पुष्टी र प्रमाणहरु भेटिने विश्वास प्रहरीले लिएको चर्तुवेदीले बताए ।
source:-ekantipur









0 commentaires