काडमाडौं, चैत ११ - नेपाल भ्रमणमा रहेका चिनियाँ जनमुक्ति सेनाका प्रमुख चेन विङ्देले नेपाली सेनाको आधुनिकीकरण र क्षमतावृद्धि गर्न चीन सदैव सहयोगी बन्न चाहेको बताएका छन्। भ्रमणको दोस्रो दिन राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री झलनाथ खनाल र रक्षामन्त्री विष्णु पौडेलसँगको भेटवार्तामा उनले नेपाली सेनाको दायरा फराकिलो पार्न चीन सहयोगी बन्न तयार रहेको बताएका हुन्।
'आगामी दिनमा नेपाली सेनाको आधुनिकिकरण र क्षमतावृद्धिको लागि आवश्यक तालिमको दायरा विस्तार गर्न चीन तयार छ,' रक्षामन्त्री पौडेलसँगको भेटमा चिनियाँ जनमुक्ति सेनाका प्रमुख विङ्देको भनाई उद्धृत गर्दै रक्षा सचिव नविन घिमिरेले भने, 'नेपाली सेनालाई के कस्तो सहयोग चाहिन्छ, छलफल गर्न हामी तयार छौं।'
बुधबार नेपाल आएकै दिन विङ्देले झण्डै १ अर्ब ४३ करोड रुपैयाँ बराबरको मेडिकल तथा विकास निर्माण उपकरण र दैविक उद्धार कार्यमा प्रयोग हुने सामग्री चीनले नेपाली सेनालाई उपलब्ध गराउने सहमति पत्रमा हस्ताक्षर गरेका थिए।
भेटमा नेपाली सेनालाई गरेको सहयोगप्रति रक्षामन्त्री पौडेलले धन्यावाद दिए लगत्तै विङ्देले आगामी दिनमा सहयोग विस्तार गर्न चीन तयार रहेको बताए। जवाफमा रक्षामन्त्री पौडेलले सहयोग विस्तार सम्बन्धमा आगामी दिनमा छलफल गर्दै अगाडि बढ्ने जनाएका थिए।
बुधबार नेपाली सेनालाई दिने घोषणा गरिएका मेडिकल, उद्धार तथा निर्माण उपकरण संचालन गर्न नेपाली सेनाको क्षमता बढाउनु पर्ने बताउँदै विङ्देले यसको लागि पनि सेनाका जवानलाई आवश्यक तालिम दिन चीन तयार रहेको जानकारी दिए। भेटमा चिनियाँ सेनाका प्रमुख विङ्देले चीन विरोधी गतिविधि हुन नदिन नेपालले गर्दै आएको कार्यको प्रशंसा गरेका थिए।
'नेपाली भुमी हामी मित्र राष्ट्र विरुद्ध प्रयोग हुन दिँदैनौं,' भेटमा रक्षामन्त्री पौडेलको भनाई उद्धृतगर्दै घिमिरले भने, 'एक चीन नीतिप्रति हामी अडिग छौं।'
प्रधानमन्त्री खनालले भेटमा चीन विरोधी गतिविधि हुन नदिने बताउँदै तिब्बत मात्र नभई ताइवान पनि चीनको अभिन्न अङ्ग भएको प्रतिवद्धता दोहोर्याएका थिए। भेटमा प्रधानमन्त्रीले बितेका ३० वर्षमा चीनले गरेको प्रगतिको खुलेर प्रशंसा गरे।
'एक समृद्ध शक्तिको रुपमा चीनको उदयले यस क्षेत्रमा मात्र नभई पुरै विश्वमा नै शान्ति तथा स्थिरता कायम गर्न सहयोग पुर्याउँछ,' भेटमा विङ्देको भनाई उद्धृत गर्दै प्रधानमन्त्रीका विदेशमामला सल्लाहकार मिलन तुलाधरले भने, 'आर्थिक रुपमा विकसित र राजनीतिक रुपमा स्थीर नेपाल एसिया प्यासिफिक क्षेत्रको लागि मात्र नभई विश्वकै स्थिरताको लागि महत्वपूर्ण छ।'
आफ्ना समस्या समाधान गर्न नेपाल सरकार र जनता सक्षम भएको जनाउँदै भेटमा उनले जारी शान्ति प्रक्रिया छिट्टै तार्किक निष्कषमा पुग्नेमा आशा व्यक्त गरे।
यस्तै बुधबार नै उनले राष्ट्रपति कार्यलय शितल निवास गई राष्ट्रपति रामवरण यादवसँग भेट गरेका थिए। भेटमा उनले नयाँ संविधान सम्बन्धमा जिज्ञासा राखेका थिए। प्रधानसेनापति छत्रमानसिंह गुरुङकोको निमन्त्रणामा नेपाल आएका विङ्दे शुक्रबार स्वदेश फर्कदै छन्।
SOURCE:-NAGRIKNEWS









0 commentaires