सर्लाही, चैत्र १६ - नक्कली परीक्षार्थीमार्फत एसएलसी दिएको भनी व्यापक आलोचना भएपछि सोमबार आफैं उपस्थित भएर परीक्षा दिएकी सभासद किरणदेवी यादव मंगलबार केन्द्र पुगे पनि नेतृत्वको दबाबमा परीक्षा नदिई र्फकेकी छन् ।
परीक्षा तयारी गरेर केन्द्र पुगेपछि पार्टीबाट फोन आएकाले उनी त्यत्तिकै र्फकेकी थिइन् । परीक्षा समयअघि नै आइपुगेकी यादव बरहथवा उच्च मावि केन्द्र प्रवेश गरेको केहीबेरमा परीक्षा दिन्न भनेर फर्किएको केन्द्राध्यक्ष विनयकुमार साहले बताए ।
सभासद यादव र्फकन थालेपछि केन्द्राध्यक्ष र निरीक्षकले उनलाई 'परीक्षा नदिने ?' भनी सोधेका थिए । उनले 'दिन्न' भन्दै कारण नखुलाएको निरीक्षकहरूले जनाए । परीक्षाको केही समयअघि तयारीसहित केन्द्र पुगेकी यादव फोन वार्तालगत्तै जाँच नदिने निर्णयमा पुगेको केन्द्रमा रहेका प्रत्यक्षदर्शीले बताए । उनीनिकट स्रोतका अनुसार केन्द्र पुगेपछि पार्टीका कुनै नेताले काठमाडौंबाट फोन गरी बेकारमा बदनाम हुन्छ, पत्रिकामा पनि लगातार आएको छ, परीक्षा नदिनु भनेपछि उनी फर्किएकी हुन् ।
चार दर्जनभन्दा बढी नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक अपराध मुद्दामा म्याद थमाएर हिरासतमा राखेको छ । 'सानालाई ऐन, ठूलालाई चैन' भन्दै सर्वसाधारणले सभासदको सट्टामा परीक्षा दिने नक्कली परीक्षार्थी जानीजानी छाडेको भन्दै विरोध गरे ।
'रेस्टिकेट गर्नुपर्ने परीक्षार्थी आफैंले छाडेपछि स्वतः कारबाही भयो,' परीक्षा समितिका एक सदस्यले भने, 'हामीलाई कारबाही गर्न चौतर्फी दबाब थियो ।' प्रजिअ शम्भु घिमिरेले नक्कली परीक्षार्थी रंगेहात पक्राउ नपरेको र तत्काल अन्य प्रमाणसमेत प्राप्त नभएकाले कारबाही गर्न समस्या परेको बताए । प्रमाण लोप गरेको र नक्कली परीक्षार्थी भगाएको आरोपमा आइतबार बेलुकै केन्द्राध्यक्ष राजकुमार ठाकुरलाई समितिले बर्खास्त गरेको थियो ।
अनुशासन आयोगद्वारा पत्राचार
काठमाडौं (कास)- एमाले अनुशासन आयोगले सभासद किरणदेवी यादवले आफ्नी छोरीलाई एसएलसी परीक्षामा सामेल गराएको हो भने त्यो समाजिक आचारण, मर्यादाविपरीत र दण्डनीय हुने जनाएको छ । आयोगले यादवको सम्बन्धमा सञ्चारमाध्यममा आएका खबरहरूका बारेमा यथार्थ जानकारी गराउन संसदीय दललाई मंगलबार पत्राचार गरेको छ ।
आयोगका अध्यक्ष अमृतकुमार बोहराले संसदीय दलका प्रमुख सचेतक भीम आचार्यलाई पत्र पठाई यथाशीघ्र यादवको घटनासम्बन्धी यथार्थ जानकारी गराउन भनेका छन् । 'सभासदजस्तो मर्यादित पदमा रहेको व्यक्तिबारे प्रकाशित समाचारहरूको सत्यता के हो ?' बोहराको पत्रमा उल्लेख छ- 'यदि त्यस्तो सामाजिक आचारण र मर्यादाविपरीतको कार्य भएको हो भने यो अत्यन्त गम्भीर र दण्डनीय कार्य हो ।' एमालेको समानुपातिक कोटामा सभासद बनेकी सर्लाहीकी यादवले गत बिहीबारदेखि आइतबारसम्म भएको तीन वटा परीक्षामा आफ्नी छोरीलाई सामेल गराएकी थिइन् । सोमबारको परीक्षामा भने यादव आफैं उपस्थित थिइन् ।
source:-ekantipur









0 commentaires