विजयपुर जनताको भावना र सहिदको रगतमाथि गद्दारी भए आफूहरु पुनः जंगल पस्ने बहिर्गमन तथा द्वन्द्वप्रभावित मञ्चका संयोजक दिपशान लिम्बूले बताएका छन् ।
मङ्गलबार धरानमा आयोजित पत्रकार सम्मेलनमा उनले जनताको भावनाअनुसार संविधान नबने आफूहरु पुनः जंगल जान पछि नपर्ने जनाए । अनमिनको प्रमाणीकरणमा ‘अयोग्य’ ठहरिएर अस्थायी शिविरबाट बहिर्गमनमा परेका माओवादीका पूर्वलडाकुहरुले मञ्च गठन गरेका छन् । उनीहरुले आगामी जेठ १४ भित्र ‘जनसंविधान’ जारी गर्नुपर्ने माग राख्दै आगामी बैशाख २ देखि ७ गतेसम्म दवाबमूलक जनजागरण अभियान चलाउने भएका छन् ।
सोही अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संयोजक लिम्बूले माओवादीले ‘जनसंविधान’ बन्ने प्रतिबद्धता जनाएकोले आफूहरु सामान्य जीवनयापन गर्न तयार भएको प्रष्ट पारे । ‘तर, अहिले जनसंविधान बन्ने सम्भावना क्षीण बन्दै गएको छ ।’ उनले भने । माओवादीभित्रकै गुटबन्दीले जनसंविधान ओझेलमा परेको मञ्चका सहसंयोजक ताराबहादुर थापाले जिकिर गरे । ‘जनसंविधान नबने सभासद् र नेताहरुलाई जनताका अगाडि कारवाही गर्छौं ।’ उनले भने ।
उनीहरुले बैशाख २ देखि ७ गतेसम्म संसद् भवन घेराउ तथा धर्ना, ५ गते प्रधानमन्त्री र मन्त्रीहरुलाई भेटेर ज्ञापनपत्र बुझाउने, ६ र ७ गते सबै राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटेर ज्ञापनपत्र बुझाउने कार्यक्रम सार्वजनिक गरेका छन् ।
source:-blast









0 commentaires