७ चैत्र, दाङ । दाङ र सल्यानमा पछिल्लो समय स्वास्थ्य संस्थाका भवनहरु धमाधम निर्माण हुन थालेका छन् । अहिले १५ वटा स्वास्थ्य भवनहरु निर्माण भइरहेका छन् । ११ वटा चालु र थप ४ वटा गरी १५ वटा स्वास्थ्य भवनहरु निर्माण भइरहेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय दाङले जनाएको छ ।
यसवर्ष स्वास्थ्य भवनहरु निर्माणका लागि ६ करोड ७७ लाख रुपैयाँ बजेट आएको छ । जसअनुसार दाङको राप्ती अञ्चल अस्पतालमा १ करोड ८६ लाख, राप्ती उपक्षेत्रीय अस्पतालमा १ करोड १५ लाख, लमहीमा डिइओसी भवनका लागि १५ लाख १८ हजार खर्च गर्ने योजना छ । यसैगरी कोइलाबास हेल्थपोष्ट भवनका लागि १८ लाख, शान्तिनगर स्वास्थ्यचौकीका लागि ४४ लाख ७५ हजार र पञ्चकुले वर्थिङ सेन्टरका लागि २५ लाख २९ हजार रुपैयाँ बजेट विनियोजन गरिएको डिभिजन प्रमुख कोषनाथ अधिकारीले बताउनुभयो ।
यसैगरी सल्यानको कोटमौला स्वास्थ्यचौकी भवनका लागि ३४ लाख, सल्यान अस्पतालमा सिइओसी भवन निर्माणका लागि ३८ लाख ८१ हजार, देवस्थल स्वास्थ्यचौकी भवन सल्लेका लागि ४५ लाख, कालिमाटी स्वास्थ्यचौकी काल्चेका लागि ३५ लाख र सल्यान अस्पतालमा चार परिवारका लागि क्वाटर निर्माणका लागि ४५ लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
सबै स्वास्थ्य भवनहरु अबको २ वर्षभित्र निर्माण भइसक्ने डिभिजन कार्यालयले जनाएको छ । यी भवनमध्ये सबैभन्दा पहिले राप्ती उपक्षेत्रीय अस्पतालको निर्माण थालिएको छ । २०६४ माघबाट सो भवनको निर्माण थालिएको हो ।
source:-onlinekhabar
0 commentaires