आहा ! कति रमाईलो खप्‍तड (फोटो फिचर)


   
                                                                     हिउँ परेका बखत ।
अमृत भादगाउँले, खप्तड (बाजुरा) चैत १२ - फागुन अन्तिम साता जर्मन नागरिक सिमोने हेरोल्डले सुदूरपश्चिमको पहाडी भूमि खप्तड टेकिन्। उनी खप्तड आइपुग्दा डाँडापाखा केही दिनअघि परेको हिउँले सेताम्मे थियो। लड्दैपड्दै खप्तडका पाटन (चौरहरू) मा निकै रमाइन् उनी। 'हिउँ त जर्मनीमा पनि खेलेको थिएँ,' उनले खुसी बाँडिन्, 'यहाँ त डाँडैभरि देख्न पाइयो।' साँझ आगोछेउ बसेर थकाइ मार्दा उनले आउँदो वर्ष आफ्नो भाइसँगै खप्तडको बाटो राराताल पदयात्रा गर्न एकमहिने यात्रामा नेपाल आउने घोषणा गरिन्।  

   
                                                          

                                                                          यहाँको पाटनमा वस्तुभाउ चर्दै ।


                                                                         तस्वीर : बलबहादुर महरा (कैलाली)

नेपाली साथीले खप्तड घुम्न प्रेरित गरेकाले उनी अरू ५ जर्मन नागरिकसहित यता आएकी हुन्। ८ वर्षदेखि जर्मनीमा बस्दै आएका डोट्याली नवराज रोस्याराले पर्यटन वर्ष २०११ को सन्दर्भ पारेर उनीहरूलाई नेपाल ल्याएका हुन्।
डोटी सदरमुकाम सिलगढी आइपुग्दा खानपिन नमिलेर सबै 'गोरा'लाई पखालाले समात्यो। अरूले आँट गरेनन्, तर औषधीका भरमा जोस्सिइन् ३१ वर्षे केमिकल इन्जिनियर हेरोल्ड। हिउँमा कुल्चिएका तस्बिर क्यामेराको डिस्प्लेमा देखाउँदै थिइन्, 'यी फोटा देखेपछि साथीहरू चुक्चुकाउनेछन्।' 
...
हिउँको सिरक ओढेर बसेको खप्तड। विदेशमा हिउँ जमेका यस्ता भिराला पाटनमा स्की खेलिन्छ। खप्तड राष्ट्रिय निकुञ्जका वार्डेन नारायण रुपाखेतीका अनुसार २०५१ सालपछि यति धेरै हिउँ पहिलोपटक परेको हो। 'यसपालि ५ फिटसम्म हिउँ जम्यो,' उनले भने। हामी पुग्दा डेढ फिटसम्म थियो। पुस दोस्रो साता, पुस मसान्त, माघ र फागुन दोस्रो साता हिउँ थपिएको रहेछ।

   
                                                           यहाँको प्रसिद्ध खप्तड मन्दिर ।
विशेषतः डोटी सदरमुकाम सिलगढीबाटै सुरु हुन्छ खप्तड पदयात्रा। हामी बखलेखसम्म मोटरमा पुगेका थियौं। सिलगढीदेखि बखलेखसम्म कच्ची बाटो छ। खप्तड बेसक्याम्प झिग्रानामा ससाना होटल छन्। त्यहीँबाट सुरु हुन्छ निकुञ्ज। करिब ५ घन्टा हिँडेपछि बीचपानीमा निकुञ्जका कर्मचारीले चलाएको एउटा होटल छ। बीचपानीबाट हिँड्न सुरु गरेको ४ घन्टामा टेकिन्छन् खप्तडका पाटन। त्यहाँ निकुञ्जको एउटा पाहुनाघर छ। 
पदयात्रा आफैंमा साहसिक काम। त्यसमाथि खाने/बस्ने राम्रो व्यवस्था नहुँदा खप्तड यात्रा सजिलो छैन। बिहान/बेलुकाको भात पाउन त गारो हुने खप्तड क्षेत्रमा ठाउँठाउँमा चिया/खाजा खाने पसलको कल्पना टाढैको कुरा भयो। 
पहिल्यै खबर गरेर जाँदा बीचपानी र निकुञ्जमा सामान्य दालभात र बास पाउन सकिन्छ। दुवै ठाउँमा एकैपटक १२ जनाभन्दा बढीले बास पाउन सक्दैनन्। सामान्य पदयात्रीको त्यसमा पहुँच हुँदैन। आवश्यक पूर्वाधार विकास भइनसकेकाले खप्तडमा थोरैमात्र पर्यटक पाइला परेका छन्। 
खप्तड राष्ट्रिय निकुञ्ज बनेको झन्डै २५ वर्ष हुन लाग्दा हालसम्म तीन सय विदेशीले मात्र यहाँ पाइला टेकेका छन्। तीमध्ये पनि धेरैजसो अनुसन्धानका विद्यार्थी हुन्। निकुञ्जले हालसम्म १४ लाख रुपैयाँमात्र राजस्व उठाएको छ। हिँड्न सजिला गोरेटा र ठाउँठाउँमा खानपिन गर्न होटल/रेस्टुरेन्ट नहुँदा र राम्रो प्रचार नभएकाले विदेशी आकर्षित नभएका हुन्।

   
                                         मेलामा जाँदै गरेकाहरु । सबै तस्वीर : बलबहादुर
बझाङ, डोटी, अछाम र बाजुराको संगम हो खप्तड। सरकारले यी चार जिल्लाको २२५ वर्ग किलोमिटर क्षेत्र समेटेर २०४३ असार ९ गते खप्तड राष्ट्रिय निकुञ्ज बनाएको हो। त्यही वर्ष यहाँ सेनाको गुल्म राखियो। 
खप्तडको उचाइ १२६२ देखि ३२७६ मिटरसम्म छ। यहाँ २२ वटा ठुल्ठुला पाटन छन्। बर्खामासमा दर्जनौंथरी फूल फुलेर पाटन ढकमक्क हुन्छन्। निकुञ्जका अनुसार यहाँ ३७२ प्रजातिका वनस्पति पाइन्छ। गुराँसमात्र ७ थरी फुल्छन्। कालकुट, पाँचऔंले, निरमसीजस्ता जडिबुटीजन्य बनस्पती १२५ थरी छन्। 
२३ किसिमका वन्यजन्तु पाइन्छ। तीनमा संरक्षित सूचीका जनावर कस्तुरी मृग, चरीबाघ र ब्वाँसो पनि पर्छन्। अनि २८७ प्रजातिका चरा पाइन्छ। भ्यागुता प्रजातिका दुई जात खस्रे भ्यागुता र बझाङे पा यहाँ मात्रै पाइन्छ। यिनको नेपाली नामकरण करणबहादुर शाहीले गरेका हुन्।
जैविक विविधताले मात्र होइन, धार्मिक र ऐतिहासिक दृष्टिले पनि खप्तड महŒवपूर्ण भूभाग मानिन्छ। मध्यकालीन राजाहरूको शक्तिकेन्द्र थियो यो। त्यतिबेलाको भग्नावशेष कोट छन् यहाँ। स्कन्द पुराणमा खप्तडको वर्णन गरिएको छ। युधिष्ठिर स्वर्ग जाँदा खप्तड हुँदै गएको मानिन्छ। 
यहाँको त्रिवेणीधाममा ज्येेष्ठ पूर्णिमामा गंगा दसहरा मेला लाग्छ। मेला भर्न वरिपरिका हजारौं भक्तालु आउँछन्। उनीहरू रातभर जाग्राम बस्छन्। देउडाको तालमा नाच्छन्। त्रिवेणीमा नुहाए पाप पखालिन्छ भन्ने जनविश्वास छ। 
वर्षैभरि घुम्न सकिन्छ खप्तड। जेठ-असारमा जंगली फूल, असोज-कात्तिकमा हिमाल, पुस-माघमा लालीगुराँस देख्न पाइन्छ भने पुसमाघमा हिउँ। खप्तडका डाँडाबाट नेपालको अपि, सैपाल हिमशृंखलासँगै भारतको नन्दादेवी हिमाल देखिन्छ। 
खप्तडबाट निस्केका विभिन्न खोलाबाट मध्यवर्ती क्षेत्रका बासिन्दाले २४ वटा लघु जलविद्युत आयोजना सञ्चालन गरेका छन्। त्यस्तै ६ वटा निर्माणाधीन छन्। मध्यवर्ती क्षेत्रमा चार जिल्लाका २१ गाविसका सवा लाख बासिन्दाको बसोवास छ। 
...
प्रसस्तै पर्यटकीय सम्भावना बोकेको छ खप्तडले। यहाँ तीन रात सजिलै बिताउन सकिन्छ। निकुञ्ज मुख्यालयलाई आधार मानेर वरिपरिका नागढुंगा, खप्तड दह, खप्तड आश्रम, सहस्र लिंग, त्रिवेणीधाम घुम्न सकिन्छ।
यहाँबाट दस दिनमा राराताल पुगिन्छ। पदयात्रा पर्यटनमात्र होइन, योग र ध्यान गर्न पनि यो क्षेत्र उपयुक्त छ। कास्मिरका शिवनाथ डोग्रे विसं २००२ देखि यहीँ बसेर साधना गरी खप्तडबाबा बनेका थिए। नेपाल बसाइको ७० वर्षमा उनी ५० वर्ष खप्तडमा बसेका थिए। उनकै कारण खप्तड चिनियो। उनलाई भेट्न बरोबर राजा वीरेन्द्र खप्तड पुग्थे। ०५६ वैशाखमा खप्तडबाबाको निधन भएको थियो। 
चर्चित योगगुरु रामदेवलाई खप्तडमा निम्त्याएर योगसाधना शिविर चलाउन सके संसारभर खप्तडको प्रचार हुन सक्छ। त्यसबाहेक 'हाई माउन्टेन गल्फ' खेलसमेत आयोजना गर्न सकिन्छ। 
सरकारले खप्तड क्षेत्र पर्यटन विकास समिति गठन गरेको छ। समितिले करोडौ रुपैयाँ बजेट पाउँदै आएको छ। पछिल्ला दुवै कार्यकालमा भ्रष्टाचार भएको भन्दै अख्तियारले पदाधिकारीलाई डामेपछि १६ महिनादेखि विकासनिर्माण ठप्प छ। समितिका कर्मचारीले तलब पाएका छैनन्।
समितिले सजिलो ठाउँ पाटनहरूमा ढुंगा ओछ्याएर गोरेटो बनाएको छ तर उसले झिग्रानादेखि बीचपानी उक्लने उकालो सुधार गरेको छैन। बीचपानीमा दुईतले ऊँटजस्तो सिमेन्टीको पक्की भवन ठड्याएको छ। चिसो ठाउँमा ढुंगा, माटो र काठको न्यानो भवन बनाएको भए राम्रो हुन्थ्यो। 
सिगलगढीदेखि बखलेखसम्म खनिएको ट्र्याकका घुम्ती यति साँघुरा छन् कि कुनै इन्जिनियरको सुझावबिना हचुवामा खनेझैं देखिन्छ। सिलगढी र खप्तडमा निर्माणाधीन सचिवालय भवनमै लाखौं खर्चिंदैछ। तत्काल सचिवालय भवन बनाउनुभन्दा अरू पूर्वाधार निर्माणमा लाग्नुपर्ने थियो। सिलगढीदेखि नै ठाउँ चिनाउने संकेत बोर्डहरू आवश्यक छ भने झिग्रानामा सूचना केन्द्र। 
खप्तड जाने चल्तीको बाटो सिलगढी-झिग्राना हो। यसबाहेक सेतीमा पुल बने बझाङको छान्नाबाट एकैदिनमा खप्तड पुग्न सकिन्छ। बाजुराको कोल्टी, अछामको साँफेबगर र डोटी सीमा चौखुट्टेबाट पनि खप्तड उक्लिन सकिन्छ। काठमाडौंका यात्रीले खप्तड घुम्न दस दिन छुट्टयाउनुपर्छ। 
निकुञ्जले पहिलोपटक खप्तडमा निजी क्षेत्रलाई होटल खोल्न अनुमति दिएको छ। स्थापित पर्यटनकर्मीहरू अमर शाही र कृष्णबहादुर महराको समूहले खप्तड मुख्यालय, बीचपानी र झिग्रानामा व्यवस्थित होटल खोल्दैछन्। निकुञ्जले फागुन अन्तिम साता टेन्डर खोल्दा उनीहरूले यो अवसर पाएका हुन्। त्यसैले अबका केही महिनापछि खप्तड यात्रा सहज हुने आशा पलाएको छ। 


source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login