११ चैत्र, काठमाडौँ । भाषाविद् तथा साहित्यकार जगनाथ त्रिपाठीको ८१ वर्षको उमेरमा आज बिहान आफ्नै घरमा निधन भएको छ । दुई वर्षदेखि दुवै मिर्गौलाले काम नगरेपछि साहित्यकार त्रिपाठीलाई हप्ताको दुईपटक डायलसिस गरेर बाँच्दै आउनुभएको थियो ।
दोलखा जिल्लाको सुनखानी गाविसमा विसं १९८६ वैशाख ८ गते जन्मनुभएका साहित्यकार त्रिपाठीले औपचारिकरुपमा २१ वर्षको उमेरमा भारतबाट औपचारिक शिक्षा लिनुभएको थियो । हिजो बेलुका सबैसँग कुराकानी गरेर राम्ररी खाएर सुन्नुभएको थियो, आज बिहान दूध खाएर विस्तारै बोल्दाबोल्दै सहजै निधन भएको उहाँका माइला छोरा कुमार त्रिपाठीले जानकारी दिनुभयो ।
नेपाली व्याकरणका विज्ञ साहित्यकार त्रिपाठीलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिने भनिए तापनि जीवित हुँदा नै आफूलाई मरेपछि प्रज्ञा प्रतिष्ठानमा नराख्न पिताले आग्रह गरेकाले प्रतिष्ठानमा नराख्ने छोरा कुमारले बताउनुभयो ।
साहित्यकार त्रिपाठीलाई आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ । नेपाली, अङ्ग्रेजीलगायतका भाषामा दक्षता हासिल गर्नुभएका साहित्यकार त्रिपाठीलाई उहाँको योगदानको कदर गर्दै गत माघ २३ गते राष्ट्रिय अभिनन्दन गरेर विद्योतकेशरीको पदवीले सम्मान गरिएको थियो ।
साहित्यकार त्रिपाठीको बारेमा ग्रन्थ भने उहाँको जन्मजयन्तीको अवसरमा वैशाख ८ गते सार्वजनिक गर्ने तयारी भइरहेको छ । साहित्यकार त्रिपाठीका श्रीमती, दुई छोरी र पाँच छोरा हुनुहुन्छ । रासस









0 commentaires