माधव ढुङ्गेल, काठमाडौं, चैत ९- उत्तरी बिहारमा गोरा वर्ण, चिम्सा आँखा र चेप्टो मुहारका राईहरूको बस्ती। अचम्मै होइन? अढाइ सय वर्षपहिले खोटाङ र भोजपुरबाट विस्थापित भएका माझकिराँती बिहारमा यादव, कुर्मी, दुसाध, मण्डल, कोइरीजस्ता 'मधेसी'बीच बस्ती बनाएर बसेका रहेछन्।
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहप्राध्यापक विष्णुसिं राईले प्रकाशित गरेको अनुसन्धान पुस्तक 'खुम्बुवानबाट हराएका सन्तानहरू'ले भन्छ- बिहारका ती राईको अनुहार पूर्वी पहाडमा बसोबास गर्ने किराँतीसँग दुरुस्त मिल्छ, तर लवाइखवाइ मधेसीजस्तै। पुरुष कुर्ताधोती र गम्छा लगाउँछन् भने महिला घुम्टोसहित साडी। घर पनि बिहारीकै जस्ता।
माझकिराँतका राईजस्तो किनामा र तीते (कुखुराका प्वाँख भातमा भुटेर बनाएको खाद्यपदार्थ) र कोदोको जाँड बिहारका राईले खान पाएका छैनन्, न दौरासुरुवाल नै लगाउन पाएका। कुलदेवता सुम्निमा र पारूहाङको नाम पनि नसुनेका उनीहरू राईभाषा जान्दैनन्। बिहारीजस्तै रोटी, भुजिया-पकौडीमै रमाउँछन्।
बिहारको मधेपुरा र सिपौल जिल्लामा यस्ता राईहरू १ सय ४ परिवारमा ५ सय २० जना रहेको अनुसन्धानकर्ता राईले उल्लेख गरेका छन्। डपर्खा गाउँमा ४० र गोनहामा ३० परिवार बस्छन्। अरू वाजितपुर, लहरनिया, मिरजावा, मछहा, परसालाही, सोहपुर र खोरियामा छरिएर बसेका छन्। यी बस्ती सीमाबाट करिब ५० किलोमिटर टाढा छन्।
सोमबार सार्वजनिक पुस्तकमाा राईले एकीकरणका बेला पृथ्वीनारायण शाहले भोजपुरको हतुवा राज्य कब्जा गरेपछि भागेर गएका माझकिराँतीले उत्तरी बिहारमा बस्ती बसाएको उल्लेख गरेका छन्। 'पृथ्वीनारायण शाहको शासन अस्वीकार गरी दलबलसहित हिंडेकाले उनका सेनाले थाहा पाए त्यहीं गएर मार्ने डरले उनीहरू पुर्ख्यौली थलोसँग सम्पर्कविहीन भएर बसेका रहेछन्', राईले भने।
हतुवाका राजा अटलसिं राई पृथ्वीनारायण शाहको डरले दलबलसहित भागेर गएपछि ब्रिटिस भारतका शासकले शरण दिएको र उनीहरू पटेर र खयरको वन फँडानी गरी बसेको राईले बताए।
उसबेला सय बिघाभन्दा बढी जमिन र हात्तीसहित शरण दिएका ती राई अहिले गरिब भएको उनले जानकारी दिए। 'भूमिहीन भने छैनन्,' उनले भने। ५ सयभन्दा बढी परिवार भए पनि कोशीको बाढी, हैजा, प्लेग, औंलोजस्ता महामारीमा परेर संख्या घटेको हुनसक्ने उनले बताए, 'कतिपयले रोजगारीको सिलसिलामा ठाउँ पनि छाडेछन्।'
उनका अनुसार घरबाहिर मैथिली बोल्ने बिहारका राईहरू घरमा नेपाली नै बोल्छन्, 'उनीहरूले बोल्ने नेपाली भानुभक्तको पालाजस्तो 'आया, गया, भया' भन्ने खालको छ, हाम्रोसँग लवज मिल्दैन।'
सबैलाई तिमी भन्ने उनीहरूको भाषामा 'तपाईं' नभएको राईले बताए, 'पुरुषहरू घरबाहिर भेट्दा मैथिलीमै सम्वाद गर्छन्, महिला भने नेपाली नै बोल्दा रहेछन्।'
खोटाङ हलेसीतिरबाट गएकालाई 'हलिसे' र भोजपुर दिल्पाबाट गएकालाई 'दिल्पा' टाइटलले चिन्ने राईले बताए। बस्तीमा भोजपुर दिल्पाका मुकारूङ र खोटाङ हलेसीका चामलिङ राई बढी रहेको उनको दाबी छ।
बिहारको पटना पढ्न गएका सुनसरी प्रकाशपुरका अनुसन्धानकर्ता राईको 'बिहारी राई' कै छोरीसँग बिहे भएपछि यो किताब प्रकाशनको बाटो खुलेको हो। खोटाङ बुइपा पुर्ख्यौली घर भएका राईको ससुराली बिहारको सुपौल जिल्ला डपर्खा पञ्चायतको त्रिवेणीगञ्ज हो।
source:-nagriknews
0 commentaires