काठमाडौ, चैत्र १२ - सक्रामक क्षयरोगबाट विश्वभर वर्षेनी १६ लाख व्यक्तिको मृत्यु हुने गरेको छ । नेपालमा भने यो रोगले मृत्यु हुनेहरूको अनुमानित तथ्यांक वर्षेनी पाँचदेखि सात हजारसम्म छ ।
राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालको ४५ प्रतिशत जनसंख्यामा क्षयरोगको जीवाणु छ । तर रोग प्रतिरोधक क्षमता राम्रो भएका कारण आमनेपालीमा यो संक्रमण देखिँदैन । मुलुकमा ४० हजार व्यक्तिलाई वर्षेनी क्षयरोग हुन्छ । वर्षैपिच्छे २० नयाँ केस पाउने गरिएको छ ।
क्षयरोग आनुवंशिक होइन । संक्रामक क्षयरोगबाट जोसुकै प्रभावित हुन सक्छन् । सक्रिय क्षयरोगले ग्रस्त व्यक्तिले सास फेर्दा हावाको माध्यमले यो रोग अर्कामा सर्छ । यस्तो रोगीले खोक्दा वा हाच्छिउँ गर्दा क्षयरोगका जीवाणु वातावरणमा प्रवेश गर्छन् र अन्य व्यक्तिलाई प्रभावित गर्छन् । उपचारविहीन एउटै रोगीले पनि एक वर्षमा १० जनाभन्दा बढीलाई संक्रमित गर्न सक्छ ।
अमेरिकास्थित सेन्टर अफ डिजिज कन्ट्रोल एन्ड पि्रभेन्सन -सीडीसी) को तथ्यपत्रअनुसार क्षयरोगको प्राथमिक संक्रमण रगतबाट वा जीवाणुको लिम्फेटिक फैलावटबाट हुन्छ । र, शरीरमा फोक्सोबाहिर कुनै पनि भागमा रोगले जड जमाउँछ । पर्याप्त मात्रामा भोक लाग्नुको अर्थ जीवाणु नष्ट भइसक्नु हो । कुनै व्यक्तिको पाचन तन्त्रमा समस्या छ भने क्षयरोगका केही जीवाणु रोग लाग्नुअघि शरीरको कुनै अंगविशेषमा महिनौं वा वर्षौंसम्म निष्त्रिmय बस्न सक्छन् ।
जीवाणु खोकीको माध्यमले फोक्सोबाहिर निस्किन वा भित्र पस्न सक्छन् । यो बाटो हुँदै जीवाणु गर्दनको लिम्फनोडमा वा ग्यास्ट्रोइन्टेस्टाइनल तन्त्रमा प्रवेश गर्छन् । पशुहरूको एम्बाबिस संक्रमित दूधबाट पनि मानिसमा यो रोग सर्न सक्छ ।
क्षयरोग हरेक अंगमा हुन सक्छ । मुख्यतः फोक्सोमै हुन्छ । अमेरिकन लङ एसोसिएसनका अनुसार यो रोगको मुख्य लक्षणमा तीन सातासम्म खोकी लाग्ने, खकारमा कहिलेकाहीँ रगत आउने हुन सक्छ । क्षयरोगीलाई छाती दुख्छ, ज्वरो आउँछ । तर यस्तो ज्वरो मुख्यतः राति आउँछ । संक्रमित व्यक्तिको तौल कम हुन्छ, उसलाई भोक कम लाग्छ । यस्ता लक्षण तीन साता वा योभन्दा बढी समयसम्म रहे चिकित्सककहाँ पुगिहाल्नुपर्छ ।
'क्षयरोग पहिचान गर्न निरन्तर दुई दिनमा तीनपटक खकारको परीक्षण गराउनुपर्छ,' राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. काशीकान्त झा भन्छन्, 'नेपालमा कुनै पनि डट्स केन्द्रमा खकारको जाँच निःशुल्क गरिन्छ र औषधिको समेत पैसा लाग्दैन ।' तर परीक्षणका लागि कनीकनी खोकेर निकालेको कफ -खकार) मात्रै दिन उनी सुझाउँछन् । जाँचका लागि कफको साटो थुक भने दिनु हुन्न ।
नियमित औषधि सेवन गरे क्षयरोग पूर्णतः निको हुन्छ । क्षयरोगीलाई चिकित्सकको सल्लाहमा ६ महिनासम्म नियमित औषधि सेवन गराउनुपर्ने उल्लेख गर्दै डा. झा भन्छन्, 'औषधि एक वर्षसम्म पनि खानुपर्ने हुन्छ ।' चिकित्सकको सल्लाहबिना औषधि खान छोड्नु हुँदैन ।
'तोकेको समयसम्म औषधि नलिने, लिए पनि अनियमित रूपमा लिनेहरूमा बहुऔषधि प्रतिरोधी क्षयरोग -एमडीआर) विकसित हुन सक्छ,' डा. झा सचेत गराउँछन्,
'यसको उपचार अत्यन्त जटिल र खर्चिलो छ ।'
औषधि प्रतिरोधी क्षयरोगमा सामान्य क्षयरोगका लागि दिइने औषधिको असर हुँदैन । क्षयरोगका जीवाणुमा औषधिको प्रतिरोधक क्षमता विकसित हुनुको मुख्य कारण रोगीको गरेको अनियमित तथा अधुरो उपचार हो । एमडीआरलाई भने औषधिको नियमित तथा पूर्ण अवधिसम्म सेवन गरेर रोक्न सकिन्छ ।
क्षयरोगीलाई उसको रुचिअनुसारको खाना दिनुपर्छ । 'उनीहरूका लागि कुनै विशेष प्रकारको खानाको आवश्यकता हुँदैन,' डा. झा भन्छन्, 'समस्या उब्जाउने खालेको खानपानबाट अवश्य जोगिनुपर्छ ।' अर्थात्, क्षयरोगीले धूमपान, मद्यपान, सुर्तीसेवनबाट टाढै बस्नुपर्छ ।
एचआईभी/एड्सपीडित व्यक्तिलाई क्षयरोगको संक्रमणको खतरा धेरै बढी हुन्छ । एचआईभीले गर्दा प्रतिरोधक क्षमता कमजोर हुन्छ र क्षयरोगको जीवाणुले क्षमता
बढाउन सक्छ ।
source:-ekantipur









0 commentaires