दाङ- , फाल्गुन २० - नारायणपुर १ का ३७ वर्षीय किरण योगी सात वर्षदेखि टाउकोमा गोली बोकेर बाँचेका छन् ।
सशस्त्र द्वन्द्वका क्रममा विद्रोही माओवादीद्वारा प्रहार भएको गोली आर्थिक अभावका कारण निकाल्न नसकेपछि उनी अपांग बनेका हुन् । त्यतिबेला उनी अपांगमात्र बनेनन्, मास्टरी जागिरसमेत गुमाउन पुगे ।
गोलीका कारण उनको बायाँ हात र खुट्टासहित एकपाखो चल्दैन । 'दिसापिसाब गर्न, कपडा लगाउन, नुहाउन, भित्र-बाहिर गर्न अरूकै साहरा लिनुपर्छ,' उनले भने, 'बाँचेर पनि मरेझंै भएको छु । अरूको साहरा बिना केही गर्न सक्दिन ।' डाक्टरले गोली निकाल्न १ लाख ६० हजार धरौटी राख्नुपर्ने बताएपछि रकम जुटाउन नसकेको उनले जनाए ।
'डाक्टरले गोली निकालेमा शरीर ठीक हुन्छ भनेका छन् तर के खाउँ र के लाउँ भएको बेला कसरी त्यति पैसा जुटाउनु ?,' उनले भने, 'जीउ सुकाएर बस्नुपरेको छ ।' उनी भन्छन्, यस्तो दुर्दशाभन्दा मारिदिएको भए पनि परिवारले त राहत पाउँथे ।
ढोडेरी ९ खाता गाउँ बर्दिया स्थायी घर भएका योगीलाई ०६० असोज ४ गते माओवादीले गोली हानेका थिए । खाता गाउँको नेपाल राष्ट्रिय माविमा पढाउँदै गर्दा उनलाई कक्षा कोठाबाटै निकालेर लगिएको थियो । 'सय मिटर पर नर्सरीमा लगेर टाउकोमा पेस्तोलले हाने, मर्यो भनेर हिँडेछन्,' उनले भने, 'तर सास गएको रैनछ । पछि नेपालगन्ज हुँदै लखनऊ पुर्याएपछि २१ दिनपछि होसमा आएँ ।'
कांग्रेसमा आस्था राख्ने भएकै कारण माओवादीले गोली हानेको उनले बताए । त्यति बेला डाक्टरले समेत बाँच्दैन भनेकाले परिवारले आस मारिसकेका थिए । 'सुतिरहेर ढाडको मासु पूरै सडेर गल्यो । प्लास्टिक सर्जरीपछि केही ठीक भएको छ,' योगीले भने, 'त्यति बेला नै २ लाख २८ हजार खर्च भयो । ऋणधन गरेर पैसा जुटाइयो । गोली झिक्न भने तत्काल सकिएन । त्यसपछि थप खर्च नभएर टाउकोमै रहिरह्यो ।'
घटनापछि उनको जागिरसमेत गयो । विद्यालयले हाजिर गराएन । बर्दियाका तत्कालीन प्रमुख जिल्ला अधिकारी नरेन्द्र दाहालले असुरक्षाका कारण हाजिर गराउन नसक्ने
बताए । त्यस बेलादेखि उनी दाङ नारायणपुरस्थित ससुराली घरमा बस्दै आएका छन् । श्रीमती, एक छोरा र छोरी साथमा छन् । उनले उपचार सहयोगका लागि लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, शेरबहादुर देउवा कोही बाँकी छैनन् । 'कसैले पनि एक पैसो दिएन,' उनले भने, 'अहिले पनि द्वन्द्वपीडितको नाममा अर्बौं बजेट आइरहेको सुन्छु ।'
एउटा कर्मचारीको उपचारमा पनि सरकारले ध्यान नदिएकोमा उनले धेरै गुनासो गरे । 'म माओवादीपीडित नभएर राज्यपीडित भएँ, ' योगीले भने ।
source:-ekantipur










0 commentaires