बोली बन्द भएपछि उनले यत्तिमात्रै लेख्न सके– 'म मेरो राष्ट्र...'


दीपक दाहाल, काठमाडौं, फागुन १९- पूर्वप्रधानमन्त्री एवं कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराईको स्वास्थ्य अवस्था गम्भीर भएको छ। उनी बुधबार अपराह्नबाट अचेत छन्। १९ दिनयता थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका भट्टराईको (सेमी कोमा) सघन उपचार कक्ष (आइसियू) मा उपचार भइरहेको छ। चिकित्सकहरूले उनको 'अवस्था निकै बिग्रिएको र बचाउन सक्ने सम्भावना टर्दै गएको' जनाउ दिएका छन्। 

चिकित्सकका अनुसार मस्तिष्कमा अक्सिजन कमीले बुधबार अपराह्नदेखि उनको वाक्य बसेको छ भने बिहानैदेखि पिसाब रोकिएको छ। मिर्गौलाले विकार छान्न सकेको छैन, रगत, मुटु र मस्तिष्कमा अक्सिजनको मात्रा निकै कम छ।
'मेडिकल साइन्समा एक प्रतिशतमात्रै बाँच्ने सम्भावना रहेसम्म पनि चिकित्सक आशावादी हुनुपर्छ,' बुधबार साँझ भट्टराईलाई जाँचेपछि डा. भरत रावतले भने।

भट्टराईले रावतलाई उनको ८६औं जन्मदिनको अवसरमा पुस १७ गते एउटा कप उपहार दिएका रहेछन्। भट्टराईको तस्बिर र हस्ताक्षर अंकित कपमा रहेको उनको आदर्श वाक्य उद्धृत गर्दै रावतले भने, 'मेरो जीवनअवधि सम्पूर्ण रूपमा ईश्वरले नै निर्देशित गर्नेछन्। सबै खालका कमीकमजोरी मात्र मेरा हुन्।'

'तर यसपटक निको भएर घर फर्किने सम्भावना ज्यादै कम छ,' रावतले नागरिकसँग भने, 'अब जे हुन्छ, भगवान कै हातमा छ।'

दिउँसोसम्म भट्टराईले केही बोल्न खोजेजस्तो गरे पनि पनि पूरा गर्न सकेनन्। पछि कागज मागेर लेख्न खोजे पनि 'म मेरो राष्ट्र ...' मात्रै लेख्नसके।

साँझ उनको रगतमा अक्सिजनको मात्रा ८२ मिलिमिटर देखिएको चिकित्सकले जनाएका छन्। अक्सिजनको मात्रा ९० भन्दा कम हुनुलाई खतरापूर्ण मानिन्छ। चिकित्सकका अनुसार कृत्रिम अक्सिजन लिइरहेका बिरामीमा पनि अक्सिजन ८२ मा झर्नु श्वासप्रश्वास प्रणाली फेल हुँदै जानु हो। 'यो भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाको संकेत हो,' एक मुटु रोगविशेषज्ञले भने।

परीक्षणले रगतमा अक्सिजनको मात्रा घट्दो र कार्वनडाइअक्साइडको मात्रा बढ्दो देखाएको छ। 'फोक्सोको काम गर्ने दर पनि कम हुँदै गएको छ,' रावतले भने, 'मस्तिष्कमा पनि रगत र अक्सिजनको मात्रा घट्दै गएको छ।' अवस्था खस्किँदै गएपछि आइसियु कक्षबाहिरको सिसाबाट भट्टराईलाई नियाल्न दिइएको थियो। अपराह्न राष्ट्रपति डा. रामवरण यादवले भट्टराईलाई अस्पतालमा भेटेका थिए। चिकित्सकसमेत रहेका यादवले बाहिर निस्किएपछि उहाँको अवस्था गम्भीर रहेको र आफूले बोलाउँदा कुनै प्रतिक्रिया नदेखाएको बताए।

भट्टराईको अवस्थामा सुधार ल्याउने अन्तिम प्रयासस्वरूप ब्लडप्रेसर बढाउने औषधि डोपामिन साँझदेखि सुरु गरिएको छ। रावतले भ्यन्टिलेरमा राख्ने/नराख्नेबारे निर्णय गर्न आफन्तले डाक्टरलाई जिम्मेवारी दिए पनि यस्तै अवस्थामा भेन्टिलेटरमा राख्नु पनि अर्थपूर्ण नहुने बताए। 'भ्यान्टिलेटरले फोक्सोलाई मात्रै सघाउने हो, मिर्गौला, मुटुलाई सपोर्ट गर्दैन, मिर्गौलाले साथ नदिने भएकाले कति समय भेन्टिलेटरमा राख्ने भन्ने हुन्छ?,' उनले भने। भेन्टिलेटरमा राख्दा पीडा बढी हुने र कम उमेरकामा त्यसबाट सुधारको सम्भावना रहने भए पनि वृद्ध र पोषण कम भएकाले भट्टराईलाई सकेसम्म भेन्टिलेटरमा नराख्ने सोचमा चिकित्सकहरू छन्। 'ब्लडप्रेसर निकै कम र उमेर बढी भएकाले डाइलसिस गर्न पनि नमिल्ने' भन्दै रावतले भने, 'धेरै विकल्प बन्द भइसकेका छन्।'

'अवस्था गम्भीर र खस्कँदो रहे पनि स्थिर बनाउने प्रयासमा विशेषज्ञ चिकित्सक टोली लागेको छ,' उनले भने।

भट्टराईको उपचारमा रावतसँगै, मुटु रोग विशेषज्ञ डा. श्यामबहादुर पाण्डे, मिर्गौला रोगविशेषज्ञ डा. ऋषिकुमार काफ्ले, डा. रमेश चोखानीलगायत छन्।

मुटु, मिर्गौला र फोक्सोसम्बन्धी रोगले लामो समयदेखि पीडित भट्टराई गम्भीर बिरामी हुँदासमेत सधैँ हाँसेर उच्च आत्मबल प्रकट गर्छन्। तर उनमा केही दिनयता आत्मबलसमेत खस्केको कांग्रेस नेता दीपकुमार उपाध्यायले बताए। 'एक/दुई दिनदेखि नै पानमात्रै अलि खान मन गरेजस्तो गर्नुहुन्छ, अन्य कुरामा कुनै इन्ट्रेस्ट देखाउनुहुन्न,' उनले भने, 'झिँझिने, बोल्न खोजेजस्तो गरे पनि नबुझिने अवस्था थियो,' उपाध्यायले भने, 'डाक्टरहरू आत्मबल घटेपछि सुधार गर्न कठिन हुन्छ भन्छन्।'

चिकित्सक पाण्डेले मुटु र मिर्गौलाले पनि थोरै प्रतिशतमात्रै काम गरिरहेको बताए। फोक्सोले पूरा काम गर्न छाडेपछि मुटुमा अक्सिजन कम भएको छ,' पाण्डेले भने, 'त्यसैले विपाप्स मेसिनबाट अक्सिजन दिइएको छ, कृत्रिम अक्सिजन छुटाउन नमिल्ने अवस्था छ।'

भट्टराई असोज र चैतमा पनि बिरामी भएर नर्भिक भर्ना भएका थिए। दुवैपटक उनी निको भएर फर्किनुलाई चिकित्सकले 'मेडिकल मिराकल' भनेका थिए। अब फर्कन त्यसभन्दा धेरै ठूलो मिराकल हुनुपर्ने उनीहरू बताउँछन्। एक वर्षअघि दुवै मिर्गौलाले करिब पूरै काम गर्न छाडिसकेको अवस्थामा पनि रिकभर भएको थियो। चिकित्सकका अनुसार भट्टराईलाई मुटुसम्बन्धी मायोकर्डियल इन्फेक्सन र दुवै किड्नीमा खराबी छ। फोक्सोमा रहेको क्रोनिक अब्जरटिभ पल्मोनरी डिजिज (सिओपिडी) मा पछिल्लोपटक इन्फेक्सन थपिएको छ जुन मुटुको रक्तकोषिका मार्दै जाने र जुनसुकै बेला हृदय गति बन्द गर्न सक्ने रोग हो।

लामो समयदेखि भट्टराईसँगै रहेकी सहयोगी अमिता कपाली भने आफूले दीक्षा लिएको दिन परेकाले बुधबार ध्यानका लागि गएकी छन्। उनी बिहीबार बिहान ५ बजेमात्र ध्यानशिविरबाट फर्कने निकटवर्तीले जानकारी दिएका छन्।

source:-nagriknews 
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login