जनकपुर, फाल्गुन १९ - जिल्लाको धनुषाधामस्थित पुराना सवरी (मुसहर) कुटीमाथि केही भूमाफियाहरुले अवैध कब्जा गरेको उल्लेख गर्दै स्थानीयवासीहरुको एक समूहले विहीवार जिल्ला प्रशासन कार्यालय धनुषामा धर्ना दिएका छन् ।
यसअघि चार पटक लिखित उजुरी दिए पनि स्थानीय प्रहरी प्रशासनले समस्या समाधान गर्न कुनै पहल नगरेको आरोप पिडीतहरुको छ । 'हामीले जिल्ला प्रशासनमा चार पटक लिखित निवेदन दिएका छौं तर कुनै पहल भएको छैन । गाउँमै रहेको इलाका प्रहरी कार्यालयले त निवेदन समेत लिन मान्दैन' सवरी कुटीका वयोवृद्ध महन्थ विहारी सदाले भने ।
उनले स्थानीय नारायण साह र अरुण साहसहितका मानिसहरुले कुटपीट गर्नुका साथै कुटी मर्मतको लागि जोहो गरेको २५ हजार नगद समेत लुटेको आरोप लगाए । उनले भने, 'यस विषयमा इलाका प्रहरी कार्यालयमा निवेदन दिन जाँदा निवेदन समेत लिएनन् ।'
महन्थ सदाका अनुसार सवरी कुटीमाथि उनको तीन पुस्तादेखि भोगचलन छ । हाल कुटी रहेको १२ कट्ठा ११ धूर जग्गामाथि उनकी आमा सुरतिया मुसहरनीको मोहियानी हक पनि छ । तर, कुटीको जग्गामा सलीम मियाँले घर बनाएर उनलाई विस्थापित गर्न खोजेका हुन् । प्राप्त जानकारी अनुसार कुटीको जग्गा केही अन्य भूमाफियाहरुले पनि खरीद गरेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी खड्गराज शर्मा समक्ष आफ्नो गुनासो राख्न आएका स्थानीयवासीहरुले समस्या समाधान नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । स्थानीय मिथिला देवी चौहानले भनिन्, 'स्थानीय प्रशासनले समस्या समाधान गर्ने चाहेको छैन । नभए महिनौदेखि किन कुनै प्रयास गरिएन ।'
सहायक प्रजिअ शर्माले महन्थ विहारी सदासंग जग्गाको सबूत प्रमाण मागेका थिए । प्रतिउत्तरमा मिथिला देवी चौहानले निवेदन दर्ता भएको प्रमाण देखाउँदै भनिन, 'हामीले चार/चार पटक प्रमाण दिई सकेका छौं । कति पटक प्रमाणमात्रै दिने ? अव निर्णय दिनुहोस् ।'
श्रोतका अनुसार तत्कालीन जमिन्दार द्वारिकानाथ शर्माले मालपोतको मिलिमतोमा मोहियानी लागेको उक्त जग्गा बिक्री गरेका हुन ।
मठ मन्दिरका महन्थ, मालपोत र गुठीको मिलिमतोमा जनकपुरको सयौ विगहा जग्गा अवैध रुपमा बिक्री भई सकेको वेला गरिव मुसहरहरुको कुटीको जग्गा अतिक्रमण हुनुलाई राष्ट्रिय मुसहर उत्थान समाजले विरोध जनाएको छ ।
समाजका अध्यक्ष चन्देश्वर सादाले ईकान्तिपुरसंग भने, 'अन्य ठाउँमा महन्थको मिलिमतोमा मठ मन्दिरको जग्गा बिक्री हुँदैछ । यहाँ महन्थले जग्गा जोगाउन खोजेका छन् तर स्थानीय प्रहरी प्रशासन भूमाफियाहरुकै हितमा काम गरेको देखिन्छ ।'
source:-ekantipur










0 commentaires