काठमाडौ, फाल्गुन १९ - महाशिवरात्रिमा बुधबार बिहान ३ बजेदेखि पशुपति मन्दिर परिसरमा भक्तजन लामबद्ध भए । पहिलो पटक रात्रिकालीन सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएकाले भक्तजनले बिहीबार बिहान ६ बजेसम्म दर्शन गर्नेछन् ।
मूल मन्दिर परिसरभित्र जाग्राम बसेर बत्ती बाल्नेहरूको घुइँचो थियो । कुनै खालको अपि्रय घटना हुन पाएन । सुरक्षा, दर्शन र स्वयंसेवा उपसमितिका सचिव भोला सिटौलाले बुधबार अबेर रातिसम्म ७ लाख ५० हजारले दर्शन गरिसकेको बताए । गत वर्षको भन्दा २ लाख दर्शनार्थी बढेको पशुपतिक्षेत्र विकास कोषले जनाएको छ । चार लाख भक्तजन न मेला हेर्नमात्र भेला भएको उनले बताए । हरेक वर्ष आउने कुल भक्तजनमा १५ प्रतिशत भारतीय हुने गरेको र यस पटक यसमा धेरै गुणाले वृद्धि भएको सिटौलाले बताए । दर्शन गर्नेमा पहिलो पटक कम्बोडियाका १० र मलेसियाका ८० भक्तजन थिए ।
महाशिवरात्रि सूचना तथा प्रचार-प्रसार समितिका संयोजक रमेश कुइँकेलले मंगलबार राति एघार बजेदेखि भक्तजन पंक्तिमा बस्न सुरु गरेको बताए ।
मन्दिरको पश्चिम ढोकामा ठूलो संख्यामा माग्दै भुइँमा बसेका साधुले गर्दा भक्तजनलाई मन्दिरसम्म पुग्न हम्मे परेको देखिन्थ्यो । बेलुकी साढे चार बजे राष्ट्रपति रामवरण यादवको सवारी हुनुअघि उनीहरूलाई हटाइएको थियो ।
पुस्तकमा पढेर पहिलो पटक शिवरात्रि पर्व हेर्न सात दिनका लागि काठमाडौं आएका जर्मन हयानोभरकी इभा ट्रांक र उनको पिता इकहार्ड पनि यस्तै पर्यटकमा थिए । भक्तजनले पंक्तिमा लागेको २० मिनेटदेखि तीन घन्टासम्ममा दर्शन पाएको देखिए । 'बिहान छ बजे आएँ, नकुरी दर्शन पाएँ,' भारत बिहार मुजफ्पुरका रामचन्द्र रायले भने । सुरक्षाकर्मीले प्राथमिकतामा राखेको हुनाले झन्डै २ सयको हाराहारीमा आएका वृद्ध, रोगी, अपांग, अशक्त र नेत्रहीन भक्तजनले आरामले दर्शन पाए ।
कोष र स्वयंसेवी संघ-संस्थाबीच समन्वय नहुँदा पश्चिम गेटमा भक्तजनभन्दा स्वयंसेवीको संख्या बढी देखिएको थियो । अनुमति नलिएका स्वयंसेवी संस्थाहरू समेत मन्दिर परिसरमा प्रवेश गरे पनि कोषका कर्मचारीहरू मूक दर्शक भएर बसेका थिए ।
स्वयंसेवी संस्था र कोषका सफाइ कर्मचारीको निष्त्रिmयताले पूरा पशुपति क्षेत्र साँझसम्म फोहोरको डुंगुरमा परिणत भएको छ । कहीं पनि सरसफाइ कर्मचारी र फोहोर उठाउने गाडी देखिएन । हजारौं भक्तजनका लागि वागमती किनारमा नुहाउनलाई नौ मात्र धाराको व्यवस्था गरिएको हुनाले भक्तजन सारै मार्कामा परे ।
मन्दिर क्षेत्रभित्र आठ ठाउँमा सीसीटिभी लगाइए पनि त्यसको अनुगमन र पर्यवेक्षण कसैले गरेको देखिएन । सीसीटिभीमा प्रस्टै दक्षिण ढोकामा तछाड मछाड भइरहेको देखिए पनि कोषले त्यसलाई साम्य पार्न कोसिस गरेको देखिएन ।
पशुपति अध्ययन व्यवस्थापन स्वतन्त्र अधिकार सम्पन्न समितिका सदस्य रामप्रसाद दाहालले ४९ वर्षअघि निर्माण भएको पशुपति प्राङ्गणमा भक्तजनको भीड बढेको बताए ।
चिकित्सक टोलीले साधुको उच्चरक्तचाप, मधुमेहलगायतको स्वास्थ्य परीक्षण गरेको थियो । प्रेस पास र कोषकै कर्मचारीको समेत पासमा 'यो पासबाट मन्दिर प्रवेश गर्न पाइने छैन,' लेखिएको हुनाले उनीहरू मन्दिर प्रवेश गर्न पाइरहेका थिएनन् । स्वयं सेवकले केही सञ्चारकर्मीको पाससमेत च्यातेका थिए ।
विशिष्ट अतिथि
राष्ट्रपतिले पूजा गर्ने बेला दुईमात्र सहायक भट्ट थिए भने राजाले पूजा गर्ने बेलामा मूल भट्टसहित चार जनै उपस्थित थिए । बेलुका साढे चार बजे राष्ट्रपति रामवरण यादव, साँझ सवा छ बजे पूर्वराजा ज्ञानेन्द्र पत्नीसहित पुगेका थिए । राष्ट्रपतिले पाँच मिनेटमा पूजा गरेर निस्केका थिए । उनले मन्दिरभित्रका पुजारीसँग 'देश कल्याण र शान्तिको कामना' सहित पूजा गर्न आग्रह गरेका थिए । राष्ट्रपति यादवले मन्दिर बाहिर लिबियामा बसेको नेपालीलाई समस्या नआओस् र मुलुकमा शान्ति र विकासको कामना गरेका थिए ।
उपप्रधान र अर्थमन्त्री भरतमोहन अधिकारी, मलेसिया, बंगलादेशका राजदूतलगायत भारतीय दूतावासका कर्मचारी मन्दिर पुगेका थिए ।
source:-ekantipur










0 commentaires