चाँदनी हमाल, चितवन, माघ २९ - आफ्नो भ्यालेन्टाईन जोडीलाई केही नयाँ दिने सोचमा हुनुहुन्छ भने सौराहा तपाँईका लागि कुरिरहेको छ। १४ फेबु्रअरी अर्थात भ्यालेन्टाईन डे—का दिन सौराहा आउने जोडीले लभ गिफ्ट पाउनेछन्। आफ्नो मायालु र आफु समेत लभगिफ्टको भागिदार हुने मौका जोडीहरुले पाउनेछन् सौराहामा।
त्यसैले कहाँ जाने भनेर नअल्मिलिई मायालुसँग सुटुक्क सौराहा नै आईहाल्नुस र पाउनुस उत्कृष्ट जोडीको उपाधी सहित लभ गिफ्ट। उक्त दिन सौराहा रहने जोडीहरुको मूल्यांकन गर्न पर्यटन व्यवसायिहरुले गोप्य समिती नै परिचालित हुँदैछन्। जोडीहरु कसरी आउछन् ,एकअर्काप्रति कत्तिको विश्वस्त छन् ,बिबाह गरेको भए सम्बन्ध कस्तो छ ,आफ्नो जोडीसँग कतिको समय विताउछन् र उसका लागि कत्तिको खर्च गर्छन लगायतका विषयमा समितीले गोप्य मूल्याकंन गर्नेछन्। सौराहामा विताएका उनीहरुको क्षणहरुको गोप्य विष्लेषण गरि उत्कृष्ट जोडी घोषणा गरिने व्यवसायि सुवास गौतमले बताए। 'तर यि सबै गोप्य हुनेछन् समितीमा को को छन् समेत कसैलाई थाहा दिईने छैन्' ,उनले भने 'यसबाट मायालु जोडीहरुको जिवन थप उत्साहपूर्ण र सम्बन्ध सुमधुर हुने विश्वास हाम्रो छ।' 'घरपरिवारको चिन्तामा डुबिरहेका जोडीहरुछन् भने पनि उनीहरुलाई अगाडी बढ्न हाम्रो प्रयासले सहयोग गर्नेछ ',क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष शंकर शैंजुले भने। देशकै तेस्रो पर्यटकिय गन्तब्य सौराहामा पर्यटन वर्षको शुरुवातसँगै पर्यटक पनि बढ्दो छ। 'केहीसमय अघिसम्म आन्तरिक पर्यटक बढी थिए अहिले दुबै बराबरजस्तै छ' ,उनले थपे। सौराहा आउने भ्यालेन्टाईन जोडीहरुले हत्ती सफरी,डुंगा सफारी,बीच सफारी र सूर्यास्तको अद्यावधिक प्याकेजमा पनि सहभागीता जनाउन पाउनेछन्।
भ्यालेन्टाईन डे—मा सौराहा आउने प्रेमी जोडीहरुले रमाइलो मात्र होईन खानाको विशेष मजा लिन पाउनेछन्। सौराहामा हुने वृहत सडक फुडफेस्टीवलमा उनीहरुले चौरासी व्यञ्जन पचासी स्वाद चाख्ने अवसर पाउने भएका हुन्।
भ्यालेन्टाईन डे—को अवसरमा फुड फेस्टीवलमा स्वदेशी विदेशी पर्यटकलाई सौराहा आउन पर्यटन व्यवसायिहरुले चुले निम्तो दिएको छ। पर्यटकको मूख्य सिजन शुरु भएसँगै हुने भ्यालेन्टाईन डेमा पर्यटकहरुले यसपटक ब्राम्हण भोजको नयाँ स्वाद लिन पाउनेछन्। मिठाई र दुध दहीका अनेकन प्रकारले पर्यटकले मुख मिठो पार्न सक्नेछन्। तयसैले साकाहारी हुनुहुन्छ भनेपनि उसले अब अनकनाउनु पर्दैन फुड फेस्टीवल संयोजक राजन भट्टले भने ब्रम्हभोजमा उसका लागि व्यवस्था छ।
'पर्यटकको आगमन सँगै होटलमा जोडीहरुको बुकिङ पनि शुरु भैसकेको छ' व्यवसायि दामोदर रेग्मीले नागरिकसँग भने, 'भ्यालेन्टाईन डे—को फुडफेस्टीवल मार्फत नै सम्पूर्ण पर्यटकलाई सौराहा आउने निम्तो दिन्छौ,आउनुस मन परेको साथीसँग सौराहामै रमाउनुस।'
सौराहा स्थित रेष्टुरेन्ट एण्ड बार एसोसियसनको मूख्य आयोजनामा हुन लागेको फुड फेस्टीवलमा सौराहाका सबै होटल व्यवसायिले सहयोग गरेको रेबानका कोषाध्यक्ष यादव श्रेष्ठले बताए।
सौराहा चोकदेखि केहीमाथी खुल्ला चौरमा आयोजना गरिने फुड फेस्टीवल भ्यालेन्टाईन डे— को अघिल्लो दिन फागुण १ देखि ३ गतेसँम्म चल्नेछ। फुड फेस्टीवलमा स्वदेशी र विदेशी सबै प्रकारका खानेकुराको स्वाद पाहुनाले चाख्न पाउने आयोजकले जनाएको छ। पाहुनाका लागि पहिले चलेको रेटभन्दा ३० प्रतिशत कम रकममा फेस्टीवलका खाना दिईने व्यवसायिहरुले बताए।
विशेष गरी नेपाली खानामा नेवारी,थारु तथा विशुद्ध नेपाली खाना ढिडो, गुन्दु्रक, लोकल माछा, कुखुराका विशेष परिकार आकर्षणका रुपमा रहनेछ। स्थानिय थारु समुदायको पारम्परीक खाना चिचर, घुँगी, हाँसको मासु पनि फेस्टीवलको प्राथमिकतामा परेको छ। त्यसबहेक नेवारी खाजा र खाना, चाईनीज, इन्डियन, कन्टिनेन्टल सबै प्रकारका विदेशी परिकारको फुड फेस्टीवलमा सहभागिता रहनेछ।
फेस्टीवलमा हुने मम खाने प्रतियोगिता,बियर खाने प्रतियोगिताले पाहुनालाई थप मनोरञ्जन दिनेछ। रमाइलो स्वादसँगै हुने यस प्रतियोगितामा जसले धेरै खान सक्यो त्यो व्यक्ति नै विजयी हुनेछ। मनोरन्जनात्मक प्रतियोगिताहरु डोरी तान्ने प्रतियोगिता,घैंटो फुटाउने प्रतियोगिता,डोरी तान्ने प्रतियोगिता समेत फेस्टीवलमा आयोजना गरिदैछ। खानासँगै पर्यटकले लोकदोहोरी,अत्याधुनिक संगित तथा थारुनाँचको पनि भरपुर मनोरञ्जन लिन सक्नेछन्। 'खुल्ला रुपमा हुनेे फुड फेस्टीवलमा २० रुपौयाँ आन्तरिक शुल्क तोकिएको छ।
फुडफेस्टीवलसँगै पर्यटकका लागि सौराहाका होटलहरु आकर्षक रुपले सजिसजाउ बनाइएको छ। सौराहामा यसवर्ष बढेको होटलसँगै झण्डै ८० बढी होटलले व्यवसाय गरिरहेका छन्। त्यस्तै पाँच दर्जन बढी रेष्टुरेन्ट र बारहरुले पनि पर्यटकलाई सेवा दिइरहेका छन्।
source:-nagriknews









0 commentaires