काठमाडौं, फाल्गुन ९ - लागूऔषधका कारोबारीले पछिल्लो समयमा महिलालाई प्रयोग गर्न थालेका छन् । लागूऔषध कानुन कार्यान्वयन इकाइका अनुसार सन् २०१० मा १४ जना महिला लागूऔषध कारोबार र ओसारपसारको अभियोगमा पक्राउ परेका छन् ।
दुई वर्ष कैद साजय भुक्तान र २ लाख रुपैयाँ जरिवाना तिरेर जेलबाट छुटेकी जरिना खातुन त्यसको ६ महिना नबित्दै समातिइन् । लागूऔषध ओसारपसार गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो । थोरै मिहेनतमा धेरै रुपैयाँ कमाइ हुने भएका कारण महिलाहरू पनि लागूपदार्थ कारोबारमा सक्रिय भएको लागूऔषध नियन्त्रण कानुन कार्यान्वयन इकाइको निष्कर्ष छ ।
सन् २००९ मा ९ महिला लागूऔाषध कारोबारको अभियोगमा समातिएका थिए । 'प्रहरीले धेरै संका नगर्ने भएकाले महिलाहरू धेरै सक्रिय देखिएका हुन्' लागूऔषध कानुन कार्यान्वयन इकाइका एसएसपी देवेन्द्र सुवेदीले भने, 'उनीहरूलाई लुकाउन पनि सजिलो हुन्छ ।'
प्रहरीका अनुसार लागूपदार्थका मुख्य कारोबारीले प्रहरीको आँखा छल्न महिलालाई प्रयोग गर्न थालेका छन् । 'बच्चाबच्ची बोकेका र गर्भवती जस्तालाई प्रहरीले ध्यान दिंदैन भन्ने भ्रममा प्रयोग गरेका हुन्छन् ।' प्रहरीका अनुसार लागूऔषध कारोबारमा सामान्य पढेलेखेका महिलाहरू लागेका छन् । 'राम्रो पैसा आउने काम गर्न पढेका छैनन्' एसएसपी सुवेदीले भने, 'दिनभर गिट्टी कुटेर २ सय कमाउनुभन्दा जोखिम मोेलेर धेरै कमाउनु राम्रो हो ।' प्रहरीका अनुसार कारोबारमा लाग्ने धेरै महिला श्रीमान्का सहयोगीका रूपमा छन् । 'श्रीमान्ले गर्न थालेपछि श्रीमतीले पनि सघाउने गरेको पाइएको छ' कानुन कार्यान्वयन इकाइका एक अधिकृतले भने, 'श्रीमान् जेलबाट कारोबार मिलाउँछन्, श्रीमती बाहिर सबै काम गर्ने गरेको भेटिएको छ ।'
source:-ekantipur









0 commentaires