१८ बर्षअघि भूटानी शरणार्थीलाई राख्न बनाइएको गोलधाप शिबिर उठाउने बिषयमा स्थानिय बासिन्दाहरुले बिभिन्न मागहरु अघि सारेका छन् । आफ्ना मागहरु पूरा नभए शिबिर उठाउन नदिने उनीहरुले चेतावनी दिएका छन् ।
शरणार्थीसम्बन्धी संयूक्त राष्ट्रसंघीय उच्चायोग (यूएनचएचसिआर) र नेपाल सरकारले शिबिरको जनसंख्या घट्दै गएपछि यो शिबिर उठाउने तयारी गरेको छ ।स्थापनाकालमा यो शिबिरको जनसंख्या करिब १० हजार रहेकोमा पुनबार्समा गएका कारण हाल यहाँको जनसंख्या करिब ४ हजार रहेको शिबिर ब्यवस्थापन समितिले जनाएको छ ।
१८ बर्षसम्म शरणार्थीका कारण आफूहरुले बिभिन्न किसिमका दुःखहरु ब्योहोर्नु परेकोले त्यसको क्षतिपूर्तिस्वरुप भौतिक, शैक्षिक, वातावरणीय र रोजगारी जस्ता पूर्वाधार यूएनएचसिआरले निर्माण गरिदिनु पर्ने स्थानियबासीहरुको माग छ ।शिबिर उठाउने बिषयमा शिबिरमा पटकपटक बैठक र छलफल गरिए पनि स्थानियबासिन्दाहरुलाई नबोलाइएकोमा उनीहरुले आक्रोस ब्यक्त गरेका छन् । शिबिरसँगै जोडिएको घर भएकी रमा उप्रेतीका अनुसार यूएएचसिआर र सरकारले स्थानियबासिन्दालाई अहिलेसम्म वेवास्ता गरेका छन् ।’यतिका बर्षसम्म शरणार्थीको पिर खेप्ने हामी अहिले हामीलाई नै वेवास्ता गरेर शिबिर उठाउने योजना बनाउने ?’ उप्रेतीले भनिन् ‘हाम्रा कुरा सुनुवाइ भएन भने यहाँबाट हामी शिबिर उठ्न दिँदैनौ ।’
स्थानिय बासिन्दाले शिबिर उठेको ठाउँमा स्थानियबासिलाई रोजगारी दिनेगरी कारखाना खोल्नु पर्ने, शिबिरको पश्चिम किनारामा रहेको देउनिया खोलामा तटबन्धन गर्नु पर्ने, गाउँमा माध्यमिक बिद्यालय बनाइदिनु पर्ने, गरामुनी गोलधाप सडक पिच हुनुपर्ने लगायतका मागहरु अघि सारेका छन् । यी मागहरु अहिलेसम्म लिखित रुपमा कतै नबुझाए पनि शिबिर उठ्ने हल्लासँगै स्थानियबासिन्दाहरु संगठित हुन थालेका छन् ।
source:-purbelitimes









0 commentaires