_राजकुमार "पुत्ला"
सुरुंग खन्न
आछाम भासिएका
आइतरामहरु फर्किए /फ़र्किएनन ?
केरुंग पुगेका चौरी गोठालाहरू
उधो झरेन की उभो पुगेन ?
युद्दले लखेटेको
गुच्चा , कबड्डी र डन्डी बियो खेल्ने मेरा दौतरी
गाऊ फिरे की फिरेनन ?
शक्ति खोरका बन्दुके सहपाठीहरु
राईफल पुछदै छन की हथ्यौडा चलाउदै ?
राहदानी बनाउन राजधानी छिरेको माँइलो
अझै लाइनमा बस्दै होला की ,
गाऊ फर्क्यो कुन्नी ?
साउदी, ओमान, कतार , लेबनानको
कित्ता कार्डमा ब्यस्त
त्यो धने दलालले
अहिले सम्म कस-कस्का टाउकालाई प्लटिंग गरि
लीलाम गरिसक्यो होला ?
मलाई झण्डा बोकाउने त्यो
नाथे समानुपातीक नेता
गाऊ फर्क्यो कि ,सम्मेलन केंद्र या
रत्नपार्कतीर कतै
त्रिशूलीको कान्छी
बदाम छोडाउदै होला ?
उफ यति धेरै ,अन्नुतरित प्रश्नहरु
आधींसरी मनभरी
मडारीदा पनि किन _किन ,
अर्धांगिनीलाई पत्र लेख्ने
जाँगर सम्म छैन यो मनमा
बरु एकतमास
देशको खबरले अत्तालिएर
यो सरकार संग
निहूँ खोज्न मन लाग्यो ,
हाका-हाक्की सोध्न मन लाग्यो
कहाँ रोकियो मेरो देशको समय ?
शिंहदरबार ...,बालूवाटर ..., शितलनिवास ....या सम्मेलन केन्द्रमा ...?
र लेख्न मन लाग्यो
बिर्सेर घर परिवारलाई नै
बालुवाको देशबाट
बालुवाटारलाई एउटा खबरदारी पत्र
सतीले सरापेको देश भन्दै
हामीलाई धरहराको बुई चढाएर
भिमसेनको महिमा गाऊदै ,
हिजो राजालाई गाली गर्ने
भुई किराहरु
आज सीलो खोज्दै छन
दोष थूपार्ने नयाँ थलो
यति खेर ,
संघियताका पण्डितहरु
तन्नेर- तन्नेरीहरु सिनित्त निख्रेको मौका छोपेर
बर्थ-डे केक झै टुक्रा टुक्रा पार्न खोज्दै छ _देश
त्यसैले त, अनागरिक भै पराई भूमिमा
बर्षौ देखि पसिना संग बिनिमय गरेको पैसा
र रगत संग साटेको बिप्रेषण रुपैयाको
एकमुष्ट हिसाब किताब खोज्न
लेखिरहेछु
बालुवाको देशबाट
बिर्सेर घर परिवार
शिंहदरबारका लिलामी जन्तुहरुलाई
अन्तिम खबरदारी पत्र









0 commentaires