१० फागुन, चौतारा । सिन्धुपाल्चोकका एक व्यक्तिले जागिर लगाइदिने बाहनामा आफ्नै छोरी बेचेका छन् । भारतमा बेचिएको तीन वर्षपछि ती युवती भागेर घर फर्किएपछि बाबुले बेचेको रहस्य खुलेको हो ।
चौताराका लोकबहादुर घलेले दलालहरुसँग मिलेर २०६४ सालमा आफ्नी छोरी बेचेका थिए । छोरीले प्रहरीमा उजुरी गरेपछि प्रहरीले लोकबहादुर र दलालहरु ईश्वर र रामशरण घलेलाई पक्राउ गरेको छ । अभियुक्तमध्ये दावा र काजीमान तामाङ भने फरार छन् ।
ती युवतीका श्रीमानले दोस्रो विवाह गरेपछि माइत बसेको मौका छोपेर राम्रो जागिर लगाई दिने प्रलोभनमा बाबु लोकबहादुरले उनलाई बेचेका थिए । लोकबहादुरले छोरीलाई राजधानी लगेर गाउँकै दलालसँग ८० हजार रुपैयाँ लिएर बिक्री गरेको प्रहरीमा बयान दिएका छन् ।
ती युवती भारतको सदितनगरबाट भागेर नेपाल फर्केपछि माघ २ गते प्रहरी सम्पर्कमा आएकी थिइन् । त्यसअघि नै सासू कृष्णमायाले बुहारी बेचिएको र त्यसमा सम्धीको समेत हात रहेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।
source:-onlinekhabar









0 commentaires