२१ माघ, काठमाडौं । मधेसी जनअधिकार फोरम नेपाल स–सर्त एमाले-माओवादीको गठवन्धन सरकारमा सहभागी हुने भएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले त्यस्तो बताउनुभएको हो । यादवले आफ्नो पार्टी नयाँ संविधान निर्माण, शान्तिप्रक्रियालाई तार्किक परिणतिमा पुर्याउने र मधेसको मुद्दालाई सम्बोधन गर्ने बातावरण सुनिश्चित गर्ने हो भने नयाँ सरकारमा सहभागी हुने बताउनुभयो ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले भन्नुभन्यो-’मुद्दा छाडेर हामी सरकारमा जाँदैनौ तर मुद्दा संबोधन हुने बातावरण बन्यो भने हामी सरकार सहभागी भएर वा सहभागी नभएर पनि सहयोग गर्छौ । हाम्रो सरकारमा सहभागीताको कुरा नवनिर्वाचित प्रधानमन्त्रीकै भरमा छ ।’
मुलुक दिशाहिन र अनिश्चितताको बाटोमा अगाडि बढीरहेको बेला प्रधानमन्त्री चयन हुनुले जनतामा फेरि शान्ति र संविधानप्रतिको निरासालाई आशामा परिणत गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो-’सिंहदरवारमा फोटो टास्ने प्रधानमन्त्रीको कुनै अर्थ छैन । बाम, लोकतान्त्रिक र मधेशवादीदलहरुको समर्थन उहाँले कसरी प्राप्त गर्नुहुन्छ । कस्तो मान्छेलाई सरकारमा सहभागी गराउनु हुन्छ । त्यसबाटमात्रै सरकारको सफलता, असफलता निर्धारण हुन्छ ।’
यादवले प्रधानमन्त्रीको निर्वाचनमा पार्टीले अनुपस्थित सर्वसम्मत निर्णयको आधारमै भएको स्पष्ट पार्नुभयो । नयाँ सरकारले पनि भारतसँग राम्रो सम्बन्ध राखेर सहकार्य गर्दै अगाडि बढनु पर्ने आवश्यकता औल्याउँदै यादवले छिमेकीहरुसँगको सम्बन्धमा सुधार गरेर त्यसबाट फाईदा लिनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो- ‘छिमेकीसँग सम्बन्ध विगारेर मुलुकको हित र विकास गर्न सकिदैन।’
source:-onlinekhabar









0 commentaires