डोल्पाबाट घोडा चराउन तराई


कपिलवस्तु, फाल्गुन ८  - डोल्पाबाट घोडा चराउने गोठालाहरू तराई झरेका छन् । हिमाली क्षेत्र डोल्पामा अत्यधिक हिमपात हुने हुँदा गोठाला घोडा चराउन यता झरेका हुन् । हिमपातसँगै पर्ने हिउँले घोडाको आहार घाँसलाई मारेर उम्रन नदिने हुँदा आहारका लागि उनीहरू यता झर्ने गरेका छन् ।

 अहिले ३ टोली डोल्पाली तराई झरेका छन् । जसमध्ये दुई टोली कपिलवस्तु सदरमुकाम तौलिहवा आसपास र एक टोली भैरहवामा छन् । कात्तिक अन्त्यतिर डोल्पाबाट हिँडेका घोडा यहाँ मंसिर पहिलो साता आइपुगेका हुन् । अहिले उनीहरू ३ ठाउँमा प्लास्टिकको पाल टाँगेर बसेका छन् । एक समूहमा रहेका ५० देखि ७० घोडा हेर्नका लागि ४ देखि ६ गोठाला लाग्ने गरेको डोल्पाबाट गोठाला गर्दै आएका प्रकाश बुढाले बताए । 'दिनभर घोडा चराउँछौं, साँझ परेपछि एकै ठाउँ बाँधेर राख्छौँ,' उनले भने । घोडासँगै उनीहरूले बन्दोबस्तीका सामान पनि लिएर आएका छन् ।

 'पुसदेखि चैतसम्म डोल्पामा धेरै जाडो हुन्छ, घोडालाई घाँसपात गर्न पनि सकिँदैन, त्यसैले यता झरेको', गोठाला बुद्धि मगरले भने । घोडाको खास व्यापार भने यसबाट जन्मने खच्चड बिक्रीबाट हुने आम्दानी रहेको उनले बताए । तराईमा घोडा चराउन ल्याउँदा गधा लगाएर गर्भ राखी खच्चड जन्माउने गरिन्छ । 

खच्चड बिक्रीबाट नै राम्रो आम्दानी हुने भएकाले घोडा पालिएको गोठालाहरू बताउँछन् । घोडीबाट खच्चड जन्माउन उनीहरूले प्रत्येक समूहमा एउटा गधासमेत पालेका छन् । घोडाभन्दा दोब्बर बढी हिँड्न र बोक्न सक्ने हुँदा खच्चडको माग बढी हुन्छ । ३ वर्ष उमेर पुगेको खच्चड ८० देखि ९० हजारसम्ममा बिक्री हुन्छ । खच्चडले डोल्पामा सामान ओसारपसारको काम गरिरहेको हुँदा यसको माग बढी रहेको हो । डोल्पामा मालसामान र खाद्यान्न ढुवानी गर्ने एकमात्र साधन खच्चड भएकाले यसको बिक्रीका लागि साहूले ठूलो लगानी गरेर घोडा पाल्ने गरेको अर्का गोठाला आकाश बुढाले बताए ।

गोठाला काम गरेबापत उनीहरूले मासिक ३ हजारसहित खाना खर्च पाउने गरेको गोठाला बुद्धि बुढामगरले बताए । गोठाला सबैलाई साहूले नै मोबाइल पनि दिएका छन् । उनीहरूले खाली चौरमा सानो पाल बनाएर घोडासंँगै रात काट्ने गरेका छन् । नयाँ ठाउँ भएकाले चोर, डाँकाको डर पनि हुन्छ तर साँझ-बिहानको चुलोचौकोका लागि जोखिम उठाएर गोठालाको काम गरिरहेको उनले बताए । 

डोल्पाको सागरताराका उनीहरू रुकुम, बाग्लुङ, गुल्मी र रूपन्देही हुँदै एक महिनाभन्दा बढी लगाएर यहाँ आएको बताउँछन् । 'साहूलाई फाइदा हुन्छ होला र त, यत्रो लगानी गरेका छन्', पहिलोपटक मधेस आएका गोठाला आकाशले भने, 'घोडा चराउने काम त गाह्रो हँुदोरहेछ ।' 

गोठालाहरूले यहाँबाट चैत २५ मा डोल्पाका लागि हिँड्ने तयारीमा रहेको बताए । कपिलवस्तु र रूपन्देहीका ३ टोली बुटवलको सिद्धबाबा आसपास भेट भई सँगै डोल्पाका लागि हिँड्ने उनीहरूले बताए ।

source:-kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login