रूद्र खड्का/निर्मल घिमिरे,जगतिया (बर्दिया), फागुन ११ - २०५९ सालमा सेनासँगको मुठभेडमा मारिएका सोरहवा-२ जगतियाका लडाकु रामप्रसाद थारुकी पत्नी कल्पनाले पटक पटक 'पीडित परिवारले के पायो?' भन्ने प्रश्न गरिरहँदा मंगलबार एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराई सुनिरहे। 'कमाउने व्यक्ति युद्धमा मारिएपछि परिवार विचल्लीमा परेको उनले पटक पटक दुःखेसो पोखी रहँदा माओवादी नेताले कल्पनालाई आश्वस्त पार्न सकेनन्।
'के सीमित नेतालाई शहरमा पठाउन युद्ध लडिएको थियो?' शहिद तथा बेपत्ता परिवारका समस्या सुन्न बर्दियाको जगतियामा पुगेका वरिष्ठ माओवादी नेताहरू समक्ष ८ वर्षे छोरालाई सँगै लिएर कल्पनाले मार्मिक ढंगले पीडा सुनाएकी थिइन्। 'गाउँलेहरू युद्धमा लागेर के पाइयो भन्छन्, हामीसँग दिने उत्तर छैन,' आक्रोशित हुँदै उनले भनिन्, 'के दुई चार जनालाई नेता र मन्त्री बनाउन जयुद्धको नाटक गरिएको हो?'
'हजारौ युवाको ज्यान जाने गरी गरिएको युद्धको उपलब्धी के भयो?' सुरक्षाकर्मीद्वारा बेपत्ता पारिएका सोही ठाउँका धनीराम थारुका भाइ लिखीराम थारुले भने, 'देशमा परिवर्तन होला र वर्षौदेखि गरिबीको चपेटामा रहेका सर्वसाधारणको जीवन स्तरमा सुधार आउला भन्ने ठानेका थियौ। तर अहिलेसम्म उपलब्धी केही भएन। नेताको चाल हेर्दा अझै केही होला जस्तो पनि लाग्दैन।' माओवादी नेताहरूलाई समस्या सुनाउन जगतियामा जम्मा भएका जिल्लाभरिका युद्धपीडित तथा बेपत्ताका आफन्तले नेताहरू शहरमुखी भएको र विलाशितामा फसेको पटक पटक दोहोर्याएका थिए।
'जनता बरु अरु त्याँग गर्न तयार छन्। तर युद्ध सुरु गर्दा नेताले बोलेको कुरा व्यवहारमा जसरी पनि देखिनु पर्छ। २०५९ सालमा सुरक्षाकर्मीले पक्राउ गरेर लिएपछि फर्केर नआएकी बुद्धिमाया सापकोटाका बाबु घनश्याम सापकोटाले भने। संकटकालिन समयको तुलनामा पछिल्ला दिनमा माओवादी नेताको व्यवहारमा निकै फरक परेको पीडित परिवारले गुनासो गरे।
पीडित परिवारका अनुसार यत्तिखेर युद्धमा ज्यान गुमाउने तथा बेपत्ताका आफन्तलाई सहयोग गर्नुको साटो उल्टै माओवादी पार्टीले वास्तासमेत गर्न छाडेको छ। 'नेताहरू गाउँमा बस्ने बेलाको समस्या तथा दुःख बिर्सेर उल्टै आपसी झगडामा लागेका छन् माओवादी युद्धमा पति मारिएपछि विधवा बनेकी कल्पना थारुले भनिन्, 'यस्तै रवैया भए माओवादी नेताका टाउका फुटाउने दिन आउन सक्छ।'
सशस्त्र द्वन्द्वमा धेरैको हत्या तथा बेपत्ता भएका जिल्ला मध्ये बर्दिया अग्रस्थानमा छ। द्वन्द्वमा यहाँ सुरक्षाकर्मी तथा माओवादीद्वारा करिब ५ सयको हत्या तथा बेपत्ता बनाइएका छन्। धेरै पीडितले राहत तथा क्षतीपूर्ति नपाएको गुनासो गरे। बेपत्ता व्यक्तिहरू कहाँ छन् भन्ने बारेमा सोधीखोजी गर्न माओवादी नेतृत्वले चासो देखाउन छाडेको उनीहरूले आरोप लगाए। 'युद्धमा वलिदान दिनेका परिवार कहाँ छन् भन्नेसमेत नेताले बिर्सिएका छन् कल्पनाले भनिन्।
युद्ध सकिएर शान्ति सम्झौता भएको चार वर्षको अवधिमा नेताले चाहेको भए धेरै उपलब्धी हुन सक्ने धेरै पीडितले ठानेका छन्। तर नेताहरूले पीडित जनताको पक्षमा भन्दा आफनै कुर्सीका लागि जोड दिएको सर्वसाधारणको आरोप छ। नौ महिने सरकारमा सामेल भइसक्दा पनि माओवादीले युद्धमा मारिएका तथा बेपत्ता परिवारलाई खासै सहयोग पुर्याउन नसकेको पीडितको गुनासो छ।
युद्धको क्रममा मारिएका तथा बेपत्ता भएका व्यक्तिका आफन्तको पीडा सुनेपछि माओवादी अध्यक्ष दाहालले जनक्रान्ति सफल भई नसकेका कारण भनेजस्तो काम हुन नसकेको बताए। पहिलेको तुलनामा पाटीर्मा केही समस्या बढेको उनले स्वीकार गरे। थारुवान, सेती-महाकाली र भेरी-कर्णालीका राज्य समिति स्तरीय कार्यकर्तालाई प्रशिक्षण दिन यहाँ आएका माओवादी नेताहरू पीडितको आग्रह अनुसार जगतिया पुगेका हुन्। नेपालगन्जदेखि करिब १८ किलोमिटर टाढाको जगतिया गाउँ सशस्त्र द्वन्द्वको बेला निकै प्रभावित वस्ती थियो।
यसैबीच मंगलवार नै तीनै जना नेताहरूले थारुवान, सेती-महाकाली र भेरी-कर्णाली राज्य समितिका सदस्याहरूलाई बाँकेको चीसापानीमा प्रशिक्षण दिए। प्रशिक्षणमा सहभागीका अनुसार दाहालले मुख्य रुपमा पार्टी सुद्धिकरण तथा पूर्णकालीन कार्यकर्ताको व्यवस्थापनमा समस्या परेको बताएका थिए। सरकारमा सामेल हुने पक्कापक्की जस्तै भएको उनले बताएको बैठकमा सहभागीले बताए। उपाध्यक्ष वैद्य र भट्टराईले दाहालले प्रस्तुत गरेको धारणामा समर्थन गरेको ती सहभागीले नागरिकलाई जानकारी दिए।
source:-nagriknews
0 commentaires