छातीभित्र मुटु
चल्छ कि चल्दैन
मेरो यादले तिमीलाई कतै पोल्छ कि पोल्दैन...
राजधानीमा शनिबार गायनगुरु गुरुदेव कामत एकल प्रस्तुतिमा थिए । राष्ट्रकवि माधवप्रसाद घिमिरेले पानसमा बत्ती बालेर उद्घाटन गरेको 'सुरम्य सन्ध्या' लाई तन्नेरी श्रोताहरूले ताली र सिठीबाट उत्तिकै तताए ।
'वाह क्या स्वर छ, मुटु नै छुने,' त्रिचन्द्र क्याम्पसका विद्यार्थी विनोद ठकुरी उत्साहित भए । गुरुदेवले कहिले मायाप्रीतिका पंक्ति सुनाए, कहिले 'बिरानो देशमा घर सम्झी...' जस्ता वैदेशिक रोजगारमा गएकाहरूको भावना गुनगुनाए ।
'दुःखका गीत धेरै गाएँ भने त म एक्लै हुन्छु,' प्रेमपरक प्रस्तुति चाहने श्रोता मनोविज्ञान बुझेपछि हाँस्दै उनले भने, 'फेरि माया पिरतीका गीत गाउँछु है ।' ओइलाएका श्रोताहरू फेरि ताते, जसै उनले कालीप्रसाद रिजालको गीत 'मेरो हजुरको तनमा चन्दनको वास आउँछ,...' गाए । शास्त्रीय रागबाट सुरु गरिएको कार्यक्रममा गुरुदेवले हिन्दी, उर्दू, मैथिली, सुफीसमेत गरी करिब डेढ दर्जन गीत सुनाए । उनलाई तबलामा ललितकला क्याम्पसका गुरु प्रेमचन्द्र ओझैयाले साथ दिएका थिए ।
कार्यक्रममा उत्तम थापाको गीति एल्बम 'मायामा' सार्वजनिक समेत गरिएको थियो ।
source:-kantipur










0 commentaires