स्युजा (दाङ), फाल्गुन ५ - ४५ वर्षसम्म गलगाँडको भारी । सुन्दा जोकोहीलाई अचम्म लाग्न सक्छ । तर विकट पहाडी गाविस स्युजा- २ खाडाका ६० वर्षीय रत्नबहादुर थापा भने १५ वर्षको उमेरदेखि गाँड बोकेर बाँचेका छन् ।
आर्थिक अभाव र स्वास्थ्य सेवामा पहुँच नभएका कारण उनले अहिलेसम्म उपचार गर्न सकेका छैनन् । 'सदरमुकाम घोराही पुगेँ, उपचार हुन सकेन,' उनले भने, 'काठमाडौं जानुपर्छ भन्थे । मसँग पैसा नभएकाले घरमै बसिराखेँ ।'
पहिले सानो डल्लो पलाएको र बढ्दै गएर निकै ठूलो भएको उनले बताए । अहिले गाँडको तौल दुई किलोभन्दा बढी भइसकेको छ । 'झनझन बढ्दै छ । दुखिरहन्छ, ठाउँठाउँमा पाक्दै गएको छ,' उनले भने, 'अब त यही कारणले मरिन्छ होला ।' के कारणले गलगाँड हुन्छ भन्ने पनि उनले थाहा पाएका छैनन् । कहिले भगवानको प्रसाद भनेर स्विकारें त कहिले आफ्नो भाग्य यस्तै भनेर चित्त बुझाएँ ।
'निकै बढेपछि उपचार गर्न खोज्दा पैसाले समस्या भयो,' उनले भने, 'अब त उपचार पनि के गर्नु र ?' सुरुसुरुमा सबैले सामान्य रूपमा लिए पनि अहिले गाउँमा गिज्याउने गरेको उनले बताए । 'गाँडवाला बाजे भनेर बच्चाले पनि जिस्क्याउँछन् । लाज लागेर गलबन्दीले छोप्न खोज्छु ठूलो भएकाले देखिइहाल्छ,' उनले भने, 'कसै कसैले त पूर्वजन्ममा पाप गरेर यस्तो भएको सोच्छन् ।'
अझै पनि अस्पताल गए उपचार हुने राप्ती उपक्षेत्रीय अस्पताल घोराहीका प्रकाश जोशी बताउँछन् । 'उपचारमा ढिलो भएर ठूलो भएछ । अझै ढिलो गरेमा झनै समस्या हुन्छ,' उनले भने, 'तत्काल काठमाडौं गएर अप्रेसन गर्नुपर्छ नत्र पाकेर अन्य समस्या उत्पन्न हुनसक्छ ।'
उपचार हुँदैन भनेर निराश भइसकेका थापाले पहिलोपटक गाउँमा पुगेका डाक्टरबाट आसलाग्दो कुरा सुनेपछि केही उत्साहित भएको बताए । 'डाक्टरले भनेअनुसार उपचार गर्न पाए त मर्ने बेला राम्रोसँग प्राण जान्थ्यो होला,' उनले भने, 'तर फेरि पनि समस्या आर्थिककै हो । कसरी जुटाउनु ? कतैबाट आर्थिक सहयोग पाएमा उपचार गर्न सकिन्थ्यो होला ।
source:-ekantipur









0 commentaires