महिलामा मानसिक अवसाद


डा. अरुणा उप्रेती फाल्गुन १०  - अरूको बारे र अरूको समस्या समाधान भएका घटना लेख्न जति सजिलो हुन्छ, आफ्नोबारे त्यसमाथि पनि आफ्नो मानसिक समस्याको बारेमा लेख्नचाहिँ बडो गाह्रो हुने रहेछ । म कुनै बेला मानसिक निराशा जसलाई 'डिप्रेसन' भन्दा सबैले बुझ्छन्, त्यो बाट पीडित भएकी थिएँ र मानसिक स्वास्थ्य विशेषज्ञसँग उपचार पनि गराएकी थिएँ भन्ने स्वीकार्न मलाई झन्डै २१ वर्ष लाग्यो । मेरो दोस्रो छोरीको जन्म भएपछि कस्तो-कस्तो रून मनलाग्ने, थकाइ लागिरहेको जस्तो हुने, जीउ कसैले थिलथिलो गरेर पिटेको जस्तो हुने, कसैले केही बोल्यो कि झगडा गर्ने, रिस उठिहाल्ने आदि अवस्था थियो । पहिले केही समय त सायद बच्चा पाएपछि र त्यसको स्याहार-सुसारको तनावले गर्दा हो कि भन्ने जस्तो लाग्यो । फेरि सोचेँ, पहिलो छोरी हुँदा त केही समस्या थिएन । मलाई कतै केही भूतसुत पो लाग्यो कि । मेरो अवस्था देखेर मानसिक स्वास्थ्य विशेषज्ञ मेरा श्रीमानले "तिमीलाई त डिप्रेसन भएको हो । बच्चा पाएपछि केही महिलालाई यस्तो हुने गर्छ' भन्दा म उनीसँग रिसाएर धेरै दिनसम्म बोलेकी थिइन । तर एकदिन टाइम पत्रिकामा  "केही महिलाहरूलाई बच्चा पाएपछि केही समय नमज्जा लाग्ने, उदासी हुने आदि हुनसक्छ भन्ने लेखेको पढेँ । पत्रिकाले शरीरभित्रको आन्तरिक रसायनमा बच्चा पाएपछि फरक पर्ने भएकोले यस्तो हुनसक्ने, कतिलाई केही समयपछि आफैं घटेर जाने तर कतिलाई लामो समय यस्तो अवस्था रहेर, जीवनमा उदासी, रिसाउने, दुःखी भएर बस्ने, कसैबिना कुनै काम रून मनलाग्ने जस्तो हुन्छ भनेर लेखिएको रहेछ । पत्रिकाले यस्तो अवस्थामा मानसिक स्वास्थ्य विशेषज्ञसँग सल्लाह लिनुपर्छ भनेर लेखेको रहेछ । त्यो पढेपछि यो त मलाई पनि पोष्टपार्टम डिप्रेसन -सुत्ेकरीपछिको उदासी) भएको रहेछ भन्ने थाहा पाएँ । अनि आफैंले मैले मेरो श्रीमानलाई भनेँ, 'मलाई त साँच्ची नै पोष्टपार्टम डिप्रेसन नै भएको रहेछ । औषधी गर्नुपर्छ कि क्या हो ।' लाज मान्दै सानो स्वरमा भनेँ, किनकि केही समय पहिले उनले यी कुरा भन्दा मैले उनीसँग बेस्सरी झगडा गरेकी थिएँ । आफ्नो अहम्लाई पर फ्याँकेर यी शब्द भन्नुपर्दा गाह्रो त भएको थियो नै । त्यसपछि मैले झन्डै ३ महिना औषधी खाएँ र समस्याबाट मुक्त भएँ । मैले अहिले यो घटना भन्नु पछाडि केही कारण छन् । एउटा त २ वर्षअघि नेपालको मातृ मृत्युदरबारे एक अध्ययन गरिएको थियो र त्यसमा गर्भावस्था र सुत्केरी हुँदा मृत्यु हुने प्रमुख कारणमध्ये आत्महत्यालाई पनि मानिएको थियो । आत्महत्या गर्नुपर्ने कारणमध्ये एउटा त मानसिक अवसाद -डिप्रेसन) नै हो, यद्यपि सञ्चारमाध्यमहरूमा महिलाहरूसँग सम्बन्धित आत्महत्याको यो खबरले त्यति चर्चा पाउँदैन । त्यसपछि केही अघि कति जवान मानिसहरूले आत्महत्या गरेको, नेपाल बाहिर काम गर्न गएका युवायुवतीहरूले आत्महत्या गरेको र एमालेको कार्यालयमा नै एक राजनीतिक व्यक्तिले आत्महत्या गरेको चर्चा पत्रपत्रिकामा  छापिएपछि आत्महत्याबारे केही छलफलचाहिँ सुरु भयो । अहिले विभिन्न ठाउँमा लोग्नेले स्वास्नीलाई मारेको, महिलाले छोराछोरीसहित नदीमा हाम्फालेर मरेको, विद्यार्थीहरू परीक्षामा असफल भएपछि आत्महत्या गरेको वा भएको खबर बारम्बार छापामा आइरहन्छन् । पहिले-पहिले आत्महत्या भन्ने कुरा हाम्रो समाज र गाउँघरमा कति कम हुन्थे, तर अहिले बढ्दै गएको छ भन्ने विभिन्न तथ्यहरूले भन्छन् । यसरी आत्महत्याको पछाडि मानसिक अवसाद एक प्रमुख कारण हो । महिलाहरूले वा युवतीहरूले आत्महत्या गर्ने थुप्रै कारणहरूमध्ये आफूलाई कसैले प्रेम र शारीरिक सम्पर्क गरेर गर्भवती बनाएपछि विवाह गर्न अस्वीकार गर्दा अति दुःखी भएर समाजको अगाडि कसरी मुख देखाउने भन्ने सोचेर आत्महत्या गरेका घटना छन् भने कति युवतीहरूले चाहिँ आफूलाई मनपरेको मानिससँग विवाह गर्न नदिएर आमाबाबुले अरूसँग जबर्जस्ती विवाह गराउँदा पनि आत्महत्या गरेका छन् । कति युवकहरूले आफूले पढ्न खोज्ने र योग्यता भएको विषय एउटा तर आमाबाबुले चाहिँ डाक्टर, इन्जिनियर, चार्टर्ड एकाउन्टेड नै बन्नपर्छ भनेर एकदम दबाब दिएर पढाउन लगाउँदा, पढ्न नसकी असफल भएर आत्महत्या गरेका घटना पनि छन् । हुन त हरेक कठिन परिस्थितिमा हुने जतिले आत्महत्या गर्छन् भन्ने छैन, तर सबैले मानसिक दबाब, समाजको अपहेलनालाई सायद एकैप्रकारले झेल्न सक्दैनन् । जसलाई समाजको दबाब झेल्न गाह्रो हुन्छ । अब मेरो जीवनमा कुनै उज्यालो छैन भन्ने जस्तो हुन्छ, अनि अर्को बाटो नदेख्दा आत्महत्या गर्छन् । आत्महत्या गर्ने कोसिस त अझ धेरैले गर्छन् । कति सफल हुन्छन्, कति असफल हुन्छन् । तर असफल भएकाहरूमध्ये सायदै कसैलाई मानसिक स्वास्थ्य विशेषज्ञकहाँ लगेर उपचार गराइन्छ । जो आत्महत्या गर्न सफल हुन्छन्, उनीहरूले आफ्नो परिवारलाई कति ठूलो पीडा दिन्छन्, त्यो त परिवारले मात्रै बोध गर्छ । किन मानिस डिप्रेसनको सिकार हुन्छ, के-के गर्नुपर्छ, के-के गर्नु हुँदैन भन्ने मेरो लेखको विषय होइन, किनभने यो त एक मानसिक स्वास्थ्य विशेषज्ञले मात्र लेख्न सक्छ । मैले त यो लेखको माध्यमबाट हामीमध्ये कोही पनि यो समस्याको सिकार बन्न सक्छ र म आफैं पनि यसको भुक्तभोगी कुरा स्वीकार गरेपछि अरूलाई पनि सायद भन्न सजिलो हुन्छ कि भन्ने लागेको छ ।

यसरी सहज भएर स्वीकार्नुको पछाडि अर्को कारण पनि छ । मैले ठूलठूला लेखक, कलाकार र गीतकार, राजनीतिक नेताहरूको जीवनी पढेपछि थाहा पाएँ, तीमध्ये कति त विभिन्न मानसिक रोगबाट पीडित भएर पनि ठूला काम गर्न सफल भएका थिए । यसरी ठूला नाम चलेका व्यक्ति सफल भएका नजिर छन् भने हामी पनि मानसिक रूपमा कहिले अस्वस्थ भएका थियौं भन्ने कुरा स्वीकार गर्न किन गाह्रो मान्ने ? बेलायतका प्रधानमन्त्री चर्चिल, प्रसिद्घ लेखक हेमिङ वे पनि मानसिक अवसादबाट पीडित थिए । प्रसिद्घ लेखिका भर्जिनिया उल्फ पनि डिप्रेसनबाट पीडित थिइन् र उनले त आत्महत्यासमेत गरिन् । सायद समयमा उपचार पाएको भए उनी आत्महत्या गर्दिन थिइन् कि ? 

हाम्रो समाजमा पनि कति डाक्टर, सचिवदेखि लिएर गृहिणीहरू पनि यो समस्याबाट पीडित भएका छन् । कतिले औषधी गराएका छन् । सामान्य जीवन बिताएका छन् । मानसिक समस्यालाई अझ अपहेलना गरेर होइन कि कुनै पनि अन्य शारीरिक रोगजस्तै ठानेर उपचार गर्ने हो र मानसिक अवसाद भएको बेला अरू मानसिक समस्याको बेला उपचार पाउने हो भने आत्महत्याका घटनामा कमी आउँथ्यो कि ? मैले आफूलाई समस्या परेको बेला त उपचार पाउन सफल भएँ, तर कति महिलाहरू समयमा उपचार र परामर्श नपाउँदा आत्महत्या गरेका हुन सक्छन् । बदलिँदो समाजमा मानसिक समस्या हाम्रो सामाजिक जीवनको एक पक्ष भइसकेको हुनाले यो विषयमा मानसिक स्वास्थ्य विशेषज्ञहरूले सचेतता गर्ने हिसाबले लेख्ने-बोल्ने गर्नुपर्छ । ताकि यसबारेमा मानिसहरूलाई बढीसेबढी जानकारी होस् र मानसिक रोग वा समस्यालाई नलुकाएर र मानसिक समस्या भएका मानिसहरूले अपहेलित हुन नपरोस् ।

source:-kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login