ब्रायनको स्वरमा आज गुन्जँदै छ काठमाडौं


काठमाडौं, फाल्गुन ७ - -सुरक्षाका लागि ६४ वटा सीसीटीभी जडान, करिब ५ हजार प्रहरी परिचालन
-सोल्टी होटलको सुइटमा बस्ने ५१ वर्षे यी गायक दूधका परिकारसमेत नखाने शाकाहारी हुन्, जसले भान्से पनि सँगै ल्याएका छन्
-१५ वर्षमा स्कुल छाडेका ब्रायन गायनमा लाग्नुअघि भाँडा माझ्ने र पाल्तु जनावरलाई खुवाउने काम गर्थे  
प्रेम, सम्बन्ध र जीवनका गीत गाउने विख्यात गायक ब्रायन एडम्सको स्वरले शनिबार (आज) साँझ गुन्जँदै छ काठमाडौं ।
मुख्यतः सन् ८० को दशकदेखि गीत र स्वरले विश्व संगीतमा आफूलाई सधैं उचाइमा राख्दै आएका गायक शनिबारै निजी विमानमा ढाकाबाट काठमाडौं आउने छन् । साँझ ८ बजेदेखि दुई घन्टा ब्रायनले डेढ दर्जनजति गीत दशरथ रंगशालामा गाउँदा उनलाई सुन्न कम्तीमा २० हजार नेपाली र विदेशीको उपस्थिति आयोजकले अपेक्षा गरेका छन् । गत वर्षदेखि 'ब्रायन एडम्स लाइभ फुल ब्यान्ड' नामको विश्वयात्रामा रहेका यी गायकले केही दिनयता भारत र बंगलादेशमा प्रस्तुति दिएका छन् ।
शनिबारको रात राजधानीको सोल्टी होटलमा बस्ने क्यानडेली गायकलाई आइतबार बिहान पर्वतीय उडानमा जान प्रस्ताव गरिएको छ, जसलाई उनले अन्तिम स्वीकृति दिइसकेका छैनन् । पर्यटन वर्ष सुरु भएको केही सातामै नेपाल आउने सबैभन्दा उच्चकोटीका यी पाहुना सौखिन फोटोग्राफर पनि हुन् । उनलाई हिमाली उडानमा लैजान सके नेपाली पर्यटकीय गन्तव्यको विश्वव्यापी प्रचार हुने पर्यटन व्यवसायीको विश्वास छ । एडम्सको कार्यक्रममा रंगशालामा स्थापित स्टेज तथा ध्वनि प्रणालीका लागि भारत र बेलायतबाट झिकाइएका उपकरणको ग्यारेन्टी नेपाल पर्यटन बोर्डले लिएको छ ।
एडम्सका लागि एक बहुराष्ट्रिय पार्सल कम्पनीका नाममा बुक गरिएको सोल्टीको सुइटमा यसअघि नेपाल आउने विदेशी राष्ट्रप्रमुखहरू बस्ने गरेका थिए । उपलब्ध गराइने सुविधाअनुसार प्रतिरात करबाहेक आठ सयदेखि १२ सय डलरसम्म पर्ने सुइटमा बस्ने ५१ वषर्ीय एडम्स दूधका परिकारसमेत नखाने शाकाहारी हुन् । उनीसँगै उनका भान्से पनि आउने छन् ।
सुकेको स्वरमा गितार बजाउँदै मन जित्ने गीतहरू गाउने एडम्सलाई स्टेजमा उनका साथीहरू ड्रमर मिक्की कुरी, लिड गिटारिस्ट किथ स्कट, बासिस्ट नोरम्यान फिसर र किबोर्डम्यान गेरी बि्रटले साथ दिनेछन् । त्यसबाहेक उनको समूहमा ध्वनि इन्जिनियर र मेकअप म्यानसहित ३५ सहयोगी रहने छन् । रंगशालामा ब्रायनलाई नेपाली सांगीतिक टोलीहरू १९७४ एडी, मंगोलियन हर्ट, रवीन एन्ड द न्यू रिबोलुसन र नमस्ते ब्यान्डले साथ दिनेछन् ।
काठमाडौंमा रहुन्जेल एडम्सको सुरक्षा जिम्मा नेपाल प्रहरीले लिनेछ । महानगरीय प्रहरी आयुक्त कार्यालयले एडम्सको कार्यक्रमका लागि पाँच हजारजति सुरक्षाकर्मी परिचालन गर्ने बताएको छ । आयुक्त कार्यालयका प्रवक्ता एसएसपी माधव नेपालका अनुसार कन्र्सटका लागि प्रहरी प्रधान कार्यालय र उपत्यकाभित्रका सबै चौकीका सुरक्षाकर्मी परिचालन गरिने छ । कार्यक्रममा सशस्त्र प्रहरी र निजी सुरक्षा कम्पनी 'गरुड' का सुरक्षाकर्मी पनि खटाइने छन् ।
रंगशालाको छाना भएको दर्शकदीर्घाअगाडि फुटबल मैदानमै बनाइएको ६ फिट अग्लो स्टेजबाट आउने ब्रायनको स्वरलाई उपस्थित सबै दर्शकका कानसम्म उत्तिकै राम्रो गरी पुर्‍याउने उद्देश्यले ध्वनि प्रणाली स्थापित गरिएको छ । त्यो काम गर्न भारतबाट ध्वनि इन्जिनियरहरू आएका छन् ।
दर्शकका गतिविधि नियाल्न रंगशालामा ६४ वटा सीसीटीभी क्यामेरा जडान गरिएका छन् । रकवेल इन्टरनेसनल नामको नेपाली कम्पनीले जोडेका ती क्यामेराबाट आएका दृश्यलाई रंगशालामै रहेका तीनवटा नियन्त्रण कक्ष्ा र रानीपोखरीस्थित प्रहरी आयुक्त कार्यालयबाट नियालिने छ । मादक पदार्थ सेवन गरेर जानेलाई प्रहरीले छिर्न दिने छैनन् । हूलदंगा गर्ने तथा अमर्यादित कार्यमा संलग्न हुनेलाई प्रहरीले कारबाही गर्ने बताएको छ ।
दुई हजार, चार हजार र छ हजार रुपैयाँका टिकट किनेर रंगशाला जाने दर्शकलाई झोला र पानीका बोतल नल्याउन आयोजकले आग्राह गरेका छन् । दिउँसो २ बजेदेखि खुला हुने रंगशालामा जानेका सवारी साधन पार्किङको व्यवस्था खुलामञ्चमा गरिएको आयोजकहरू जेपीआर इभेन्ट र ओडिसी नेपालले बताए ।
नेपाल आएर गाउने ब्रायन सम्भवतः पहिला अन्तर्राष्ट्रिय ख्याति प्राप्त पश्चिमा गायक हुन् । उनको नेपाल आगमनलाई लिएर अंग्रेजी संगीतप्रति रुचि राख्ने तथा पर्यटन व्यवसायीमा व्यापक उत्सुकता छाएको छ । उनीहरूले आपसका भेट र इन्टरनेटका पन्नाहरूमा त्यस्तो उत्साह व्यक्त गरेका छन् । शिक्षण अस्पताल महाराजगन्जका डा. सवास प्याकुरेलले एडम्सलाई फेसबुकमा खुला पत्र लेख्दै विश्वमञ्चमा नेपालका सद्भावना राजदूत होइदिन आग्रह गरेका छन् । 'समर अफ सिक्टिनाइन', 'एभि्रथिङ आई डु' र लेट्स मेक अ नाइट टु रिमेम्बर' जस्ता विश्वभरि लोकपि्रय गीत गाएका एडम्सले १९८० मा पहिलो एल्बम आफ्नै नामबाट सार्वजनिक गरेका थिए । त्यसयता उनले २० वटा एल्बम ल्याएका छन् । उनका एल्बमका करिब ७ करोड प्रतिहरू बिक्री भएका छन् । अमेरिकी संगीत पत्रिका 'रोलिङ स्टोन' का अनुसार संगीतमा लाग्नुअघि एडम्सले युवा उमेरमा भाँडा माझ्नेबाहेक पाल्तु जनावरलाई खुवाउने काम गरेका थिए । १५ वर्षमा स्कुल छाडेका गायक अहिले 'ब्रायन एडम्स फाउन्डेसन' मार्फत शिक्षा क्षेत्रमा पनि सक्रिय छन् । फोटोग्राफीबाट आउने आम्दानीले फाउन्डेसन चलाएका एडम्सले विश्वका विभिन्न ठाउँमा ठूला विपत् पर्दा सहयोगका लागि रकम जुटाउन पनि कार्यक्रम गर्ने गर्छन् ।
source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login