श्याम भट्ट, काठमाडौं, माघ १७- स्थानीयमाझ 'देउताको कुकुर' उपमा पाएको सुन्दर जनावर हिउँचितुवाको अस्तित्व संकटमा परेको खबर आएको छ।
विश्वसम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जमा चितुवा बढ्दै जानु र दुवै प्रजातिको आहारा एउटै हुनाले हिउँचितुवा संकटमा परेको विज्ञले बताएका छन्।
सामान्यतया २५ सय मिटर उचाइमा बस्न रुचाउने चितुवाले दुई साताअघिमात्र ३४ सय मिटर उचाइमा रहेको नाम्चेनजिकै भाले कस्तुरी मारेर खाएको वार्डेन वेदप्रकाश ढकालले बताए।
चितुवा हिमचितुवाको बासस्थानमा पुग्नु अध्ययनको विषय भएको उल्लेख गर्दै ढकालले भने, 'सगरमाथामा रहेका झारल (हिमाली थार) हिउँचितुवाको मुख्य खाना भएको र चितुवा पनि त्यही सिकार खोज्दै सगरमाथा पुगेको हुनसक्ने हामीले अनुमान गरेका छौं।' दुवै जनावरको आहार एउटै भएपछि द्वन्द्व बढ्नसक्ने उनले बताए। यो द्वन्द्वले हिउँचितुवाका नयाँ सन्तान प्रभावित हुने उल्लेख गर्दै ढकालले भने, 'सगरमाथामा हिउँचितुवाको स्थिति अध्ययन गर्नु आवश्यक छ।'
सगरमाथा क्षेत्रमा सन् २००७ मा पहिलोपटक चितुवाको उपस्थिति देखिए पनि पछिल्लो समय यसको संख्या बढ्दै गएको विज्ञले बताएका छन्। विज्ञका अनुसार सोलुखुम्बुको तल्लो भागमा मानवीय गतिविधि बढेपछि चितुवा हिमालतिर पुगेका हुन सक्छन्।
डब्लुडब्लुएफ नेपालका अनुसन्धान अधिकृत कमल थापाका अनुसार 'पहिले सगरमाथाको नाम्चे, फोर्चे, थामे र गोक्यो क्षेत्रमा देखिने हिउँचितुवाका पदचिह्न अहिले देखिन छाडेका छन्।' आफूजस्तै मांसाहारीको उपस्थितिले हिउँचितुवा अझ उचाइतिर वा तिब्बततिर गएको सम्भावना थापा उल्लेख गर्छन्। उनले गत अगस्टमा सगरमाथा क्षेत्रमा हिउँचितुवा अनुगमन गरेका थिए।
हिउँचितुवालाई वनस्पति तथा वन्यजन्तुको अवैध व्यापारसम्बन्धी अभिसन्धि साइटिसले प्राथमिकतासाथ अनुसूची १ मा राखेको छ। सगरमाथामा चितुवाको संख्या बढ्न थालेपछि यहाँ ढोरपाटनबाट नाउर ल्याएर स्थानान्तरण गर्ने योजना सरकारले ल्याउनुपर्ने थापा बताउँछन्।
झारलको संख्या बढेका आधारमा हिउँचितुवाको अवस्था राम्रो भन्न सकिन्छ। सन् २००९ को तथ्यांकअनुसार सरमाथामा तीनदेखि पाँच हिउँचितुवा र १ सय ९० झारल छन्। सरकारले एक वर्षअघि सार्वजनिक गरेको तथ्यांकअनुसार मुलुकमा ३ सयदेखि ४ सय संख्यामा हिउँचितुवा छन्। अहिले झारलसमेत घटेको थापा बताउँछन्। नेपालमा सबैभन्दा बढी हिउँचितुवा रारा र कञ्चनजंघा क्षेत्रमा पाइन्छन्। यसबाहेक गणेश हिमालदेखि, रोल्वालिङ, मकालु-वरुणलगायत उच्च हिमाली क्षेत्रमा हिउँचितुवा पाइन्छन्।
यो संरक्षित जीवलाई सगरमाथा क्षेत्रमा सन् २००४ मा हिउँचितुवाविज्ञ सोम आलेले भेटेका थिए। यो जनावर मध्यएसियाका १२ देशमा पाइन्छ।
source:-nagriknews









0 commentaires