काठमाडौं -कास)- 'आहा, कस्तो टल्केको हिमाल,' सिद्धार्थ वनस्थली क्याम्पस, प्रमाणपत्र तहकी विद्यार्थी मेलिना कुँवर आइतबार नेपाल कला परिषद्मा चित्र हेर्दै चकित परिन् । उचाइमा हिमाल, तल हरिया डाँडा, त्यसकै काखमा स्वयम्भूनाथ र सहर ।
राजधानीमा आइतबार सुरु 'प्रकृतिको सुन्दरता' नामक चित्रकला प्रदर्शनीमा मेलिनाले सुरेश योन्जनको यही चित्र मन पराएपछि दिदी एलिनाले भीडमा चित्रकार खोज्न थालिन् । सात हजार रुपैयाँको चित्र आँखै अगाडि बिकेपछि सुरेस मक्ख परे ।
कमर्सियल आर्टटिस्ट एसोसिएसन अफ नेपालले गरेको प्रदर्शनीमा अमृत सुनारी मगर, सुरज सुब्बा, विश्व थापा, दोर्जे लामा, नम्रता सिंह, दीपक थापा, अश्विन काफ्ले, प्रमिला कँुवर लगायत १७ विद्यार्थीका सिर्जना छन् । सबै क्यान फाइन आर्ट इन्स्िटच्युटका प्रशिक्षार्थी हुन् । एक साता जारी रहने प्रदर्शनमा २५ सयदेखि १५ हजार रुपैयाँ सम्मका ६५ चित्र छन् । 'युवाका काम देखेर खुसी लाग्यो,' कला समीक्षक मदन चित्रकारले भने, 'सिक्दै गरिएको भए पनि काम आशालाग्दो लाग्यो ।'
उज्याला सिर्जना
ललितपुर -कास)- ग्रहण भन्नेबित्तिकै सबैको मस्तिष्कमा नकारात्मकता आउन सक्छ । चित्रकार सागर मानन्धर भने यसलाई सकारात्मक रूपमा लिन्छन् र यसको उज्यालो पक्षलाई बाहिर ल्याउन चाहन्छन् । यही विषयलाई समातेर उनले कोरेका चित्रहरूको यतिबेला पुल्चोकस्थित पार्क ग्यालरीमा प्रदर्शनी भइरहेको छ ।
यो उनको नवौं एकल प्रदर्शनी हो । 'ग्रहण भन्नेबित्तिकै हामी नकारात्मक अर्थमा लिन्छौं,' आफ्ना सिर्जनाबारे सागरले भने, 'यसभित्र उज्यालो लुकेको हुन्छ भन्ने कुराप्रति कसैको ख्याल रहँदैन ।' उनको विचारमा ग्रहणपछि नै उज्यालोको सुरुवात हुने भएकाले ग्रहण उज्यालोको आधार पनि हो । चित्रमा उनले यही विचारलाई पुष्टि गर्न खोजेका छन् । क्यानभास र पेपरमा उनका चित्रहरू हेर्दै जाँदा सिंगो ब्रह्माण्ड अवलोकन गरेको भान हुन्छ । चित्रमा उज्यालो र अँध्यारो दुवै रंगको उत्तिकै प्रयोग गरिएको छ, जसमार्फत ग्रहणको गम्भीरता र यसको अर्थलाई बुझ्न सकिन्छ ।
अमूर्त चित्रहरूलाई उनले एक्रेलिक, मिक्स मिडियामार्फत क्यानभास र पेपरमा उतारेका छन् । 'ग्रहण लाग्नु प्रकृतिको नियम हो, पाप होइन,' उनको बुझाइ छ, 'सोच जहिले पनि पोजेटिभ राख्नुपर्छ । चारैतिर पोजेटिभ नै पोजेटिभ देखिन्छ ।' प्रदर्शनीमा ४३ वटा चित्रहरू छन् । 'जीवनमा दुःखपछि सुख भएजस्तै प्रकृतिमा पनि ग्रहणपछि उज्यालो निश्चय छ,' उनले मुस्कुराउँदै भने, 'दुवै प्रकृति र जीवनको अकाट्य पाटा हुन् ।'
source:-kantipur










0 commentaires